काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका समयमा भएका राम्रा र नराम्रा दुबै घटना क्रमको जिम्मेवारी आफुले लिने बताएका छन् ।
आइतबार सहिद बुद्धिमान पाख्रिनको १७औँ स्मृति सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जनयुद्धको दोषी ठहरिए आफु कारवाही भोग्न तयार रहेको बताएका हुन् । ‘द्वन्द्वको नेतृत्व मैले गरेको हुँ, त्यसको जिम्मेवारी मैले लिनुपर्छ र दिन्छु पनि, विस्तृत शान्ति सम्झौता भएदेखि नै हत्या, बलात्कारजस्ता जघन्य अपराधीले उन्मुक्ति पाउनु हुँदैन भनेर भन्ने मै हुँ, प्रत्येक घटनाको छानबिन गरौँ भनेर मैले नै भनेको हुँ ।’ उनले भने, ‘त्यहाँ भएका त्याग, तपस्या, वीरता र बलिदानका हजारौ किर्तिमानहरु जो कायम भए त्यसको पनि र त्यसक्रममा भएका केही ज्यादतिपूर्ण घटनाहरु भए त्यसको पनि जिम्मेवारी लिन्छु ।’
उनले द्वन्द्वमा जघन्य अपराध गर्ने दोषीलाई कारवाही र पीडितलाई परिपूरणकै निम्ति सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन गरिएको बताउँदै भने, ‘यस्ता खालका द्वन्द्व भविष्यमा नदोहोरियोस् भनेर पनि हामीले सत्यतथ्य छानबिन गर्नैपर्छ र दोषीलाई कारवाही गर्ने, मेलमिलापको वातावरण बनाउने भन्ने बारेमा छलफल गर्दै आएका छाैं’ उनले भने, ‘इतिहासको यो घटना मेरै कारणले भएको हो, ममाथि पनि धेरै मुद्दाहरु छन्, म दोषी भए कारवाही भोग्न तयार छु ।’
दुई आयोगसम्बन्धी ऐन संशोधनको तयारीमा रहेको र पदाधिकारी छिट्टै पठाउने तयारी रहेको जानकारी दिँदै उनले सबै घटनामा आममाफी होस् भन्ने सोच नभएको बताए ।




प्रतिक्रिया