आगामी निर्वाचनमा एक्लैले दुईतिहाई बहुमत ल्याउँछौं : अध्यक्ष प्रचण्ड

आगामी निर्वाचनमा एक्लैले दुईतिहाई बहुमत ल्याउँछौं : अध्यक्ष प्रचण्ड


चितवन – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी  निर्वाचनमा नेकपा एक्लैले दुईतिहाई बहुमत ल्याउने दावी गरेका छन् ।

आइतबार चितवनको ईच्छाकामना गाउँपालिकाका शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आउँदा तीन वर्षमा सरकार र पार्टीले जनताका पक्षमा तीव्र गतिमा काम गर्ने बताउँदै नेकपाले अवको निर्वाचनमा एक्लैले बहुमत ल्याउने बताए ।

‘अबको तीन वर्षमा पार्टी र सरकारको कामबाट आउने निर्वाचनमा हामी एक्लैले दुईतिहाइ बहुमत ल्याउने कुराको सुनिश्चित गर्ने प्रतिवद्धता व्यक्त गरेका छौँ’, उनले भने । सरकार गठनको दुई वर्ष कानुन बनाउन र छिमेकीसँग सम्बन्ध सुधारमा बितेको बताए ।

उनले गत मंसिरमा सम्पन्न उपनिर्वाचनमा कल्पना नगरेका ठाउँमा पनि हारेको भन्दै उनले अब पार्टीभित्र उत्साहको वातावरण बनाउन विशेष अभियान सञ्चालन गर्न लागिएको बताए । उनले स्थानीय जनप्रतिनिधि र कार्यकर्तालाई जनतासँग एकाकार भइ काम गर्न निर्देशन समेत दिए ।