केपी ओली गतिछाडा मान्छे हुन्, ओलीको ‘धूलो छाप’ पार्टीमा कोही नजानुस्ः माधव नेपाल

केपी ओली गतिछाडा मान्छे हुन्, ओलीको ‘धूलो छाप’ पार्टीमा कोही नजानुस्ः माधव नेपाल


काठमाण्डु – नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली गतिछाडा मान्छे भएको बताएका छन् ।

सोमबार बिहान काठमाण्डुको पेरिसडाँडास्थित पार्टीको केन्द्रीय कार्यालयमा प्रदेश २ का कार्यकर्तालाई सम्बोधन गर्दै नेता नेपालले केपी ओलीलाई गतिछाडा मान्छेको संज्ञा दिँदै ओलीको ‘धूलो छाप’ पार्टीमा कोही नजान आग्रह गरेका हुन् ।

‘केपी ओली गतिछाडा मान्छे हुन्, उनी पार्टीको नियम र निर्देशन मान्दैनन्, एकलौटी चल्न रुचाउँछन् । अहिले उनी जिल्ला जिल्लामा पुगेर डम्बरू बजाइरहेका छन् । हरेकलाई केन्द्रीय सदस्य बाँड्दैछन्,’ उनले भने, ‘अब १० हजारको केन्द्रीय सदस्य बनाउने रे ! त्यसैले मैले भन्ने गरेको छु, त्यो सडक छाप होइन, धूलो छाप पार्टी हो, केपी ओलीको धूलो छाप पार्टीमा कोही नजानुहोला ।’

नेता नेपालले अहिलेको लडाइँ ओलीले लगाएको आरोपजस्तो पदको नभई संविधान र गणतन्त्रका लागि भइरहेको बताए ।

‘उहाँ पार्टी अनुशासन मान्नु हुन्न, उहाँ गुटमा रमाउन चाहनुहुन्छ । गुटमा रमाउने उहाँको प्रवृत्ति छ । अहिले लडाइँ त्योभन्दा पनि माथि उठिसक्यो’, उनले भने, ‘यो लडाइँ सही विचारको लडाइँ हो, गलत विचारविरुद्धको लडाइँ हो । त्यसैले तपाईंहरूले खुट्टा घडबडाउनुपर्ने आवश्यकता छैन, कुनै कुरामा भ्रमित हुनुपर्ने आवश्यकता छैन,’ उनले भने ।