काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ । आइतबार बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले आगामी बैठकका लागि चार वटा कार्यसूची तय गरेको छ ।
नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकको कार्यसूचीबारे जानकारी दिँदै बैठक भोली १ बजे पेरिसडाँडामा बस्ने जानकारी दिए ।
उनले आजको बैठकले यसअघि बसेको स्थायी कमिटी बैठकको निष्कर्ष र निर्णयलाई कार्यान्वयन गर्नेविषयमा छलफल भएको बताए । उनले सरकारलाई अझै प्रभावकारी बनाउने विषयमा छलफल भएको जानकारी दिए ।
‘आजको बैठकले चार वटा कार्यसूची तय गरेको छ । मन्त्रिपरिषद् पुर्नगठन स्थायी कमिटीको निर्णयअनुसार गर्ने विषयमा नीतिगत रुपमा सुझाव दिएको छ । त्यसबारेमा व्यक्तिका नामबारे प्रवेश गरेका छैनौं । आज नीतिगत रुपमा विभिन्न कोणमा सुझाव दिएका छौं’, उनले भने ।
त्यस्तै उनले संवैधानिक र राजनीतिक नियुक्तीका बारेमा सरकारलाई आधार तय गरिदिन, सजिलो बनाउने विषयमा छलफल गर्ने कार्यसूची तय गरेको जानकारी दिए ।
प्रवक्ता श्रेष्ठले सांगाठनिक एकीकरणका बाँकी बाँकी कामबारे पूरा गर्ने, स्थायी कमिटीको रिक्त रहेको पदपूर्ती, पहिले बाँकी रहेका कारबाहीका बारेमा छलफल, केन्द्रीय कमिटीका सदस्यहरुलाई नियमित रुपमा केही आर्थिक सहयोगबारे सचिवालय बैठकको कार्यसूचीमा रहेको जानकारी दिए ।
सचिवालय बैठकले संघीय संसदको सदस्यहरुले कोरोना भाइरसका कारण बैठकको भत्ता के गर्ने भन्ने विषयमा छलफल हुने बताए ।




प्रतिक्रिया