काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठकले नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई फकाउने जिम्मा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिने निर्णय गरेको छ ।
बैठकपछि पत्रकारसँग कुरा गर्दै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले यस विषम् परिस्थितिमा पार्टीको एकता, विधि र परम्परालाई ध्यानमा राखी अर्का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरी बैठक सुचारु गर्न अध्यक्ष प्रचण्डलाई जिम्मेवारी दिने निर्णय भएको जानकारी दिए ।
उनले आजको स्थायी समितिको बैठकको मिति र समय यसअघिकै बैठकले निर्धारण गरेको भन्दै बैठकले अध्यक्ष एवं प्रधानमन्त्री ओलीले विधिविपरीत बैठक स्थगित गरेको भन्दै स्थायी समिति बैठकले त्यसलाई अनुचित ठहर गरेको उनले बताए ।
उनले अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री ओलीलाई बैठकमा आउन आग्रह गरे पनि उनले अस्वीकार गरेको बताए । पार्टीमा प्रचण्ड समूहको बहुमत हुँदाहुँदै पनि किन अनिर्णित हुनुभएको हो भन्ने पत्रकारको प्रश्नमा उनले बहुमतका आधारमा नभई सहमतिका आधारमा अगाडि बढ्न चाहेको बताए ।
मंगलबार बिहान ११ बजेका लागि बोलाइएको स्थायी कमिटि बैठकअघि अध्यक्ष प्रचण्ड र ओलीबीच हुने भनिएको छलफलमा प्रचण्ड उपस्थित नभएपछि प्रधानमन्त्री ओलीले बैठक स्थगित गरेका थिए ।




प्रतिक्रिया