काठमाडौं – सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्ने भएको छ । वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने–नपठाउने भन्नेबारे तीव्र विवाद जारी रहेका बेला प्रधानमन्त्री निवास बालुवाटारमा आज (आइतबार)साढे ११ बजेका लागि बैठक बोलाइएको हो ।
बैठकमा वामदेवलाई राष्ट्रिय सभामा सिफारिस गर्ने गत बुधबारको निर्णयलाई कार्यान्वयन गराउने विषयमा छलफल हुने बताइएको छ । साथै बैठकमा पार्टीको आन्तरिक विवादका अलावा समसामयिक राजनीति र सरकारलाई गति दिनेलगायत विषयमा पनि छलफल हुनेछ ।
सचिवालयले सर्वसम्मत रूपमा गौतमको नाममा सहमति जुटाए पनि लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले असहमति जनाएका थिए । उनले मनोनयन सिफारिसमा सरकार स्वतन्त्र रहेको भन्दै कार्यवधि सकिन लागेका अर्थमन्त्री युवराज खतिवडालाई नै निरन्तरता दिने अडान लिएका छन् ।
वामदेवलाई राष्ट्रिय सभामा नपठाउने प्रधानमन्त्रीको अडानमा सचिवालय सदस्य तथा रक्षा मन्त्री ईश्वर पोखरेलले मात्र खुलेर साथ दिएका छन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपालले सचिवालयको निर्णय प्रधानमन्त्री ओलीले मान्नुपर्ने तर्क गर्दै आएका छन् ।




प्रतिक्रिया