सत्तापक्ष र प्रतिपक्षीबीच सांसदमा जुहरी : ओली ‘झुटप्रसाद’, शेरबहादुर ‘छेरबहादुर’


काठमाडौं – सत्तापक्ष र प्रतिपक्षी सांसदहरुबीच आइतबारको प्रतिनिधिसभा बैठकमा जुहारी चलेको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद उमाकान्त चौधरीले सरकार असफल भएको आरोप लगाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले हावादारी कुरा गर्दै हिँडेको दाबी गरे ।

सांसद चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई यसअघि ‘करप्रसाद’को उपमा पाइसकेको र अब ‘झुटप्रसाद’ ओली भन्दा फरक नपर्ने बताए । जवाफमा सत्तापक्षका सांसद झपट रावलले चौधरीले प्रधानमन्त्रीको नाम बिगारको भन्दै आपत्ती जनाए । सांसद रावलले चौधरीले प्रयोग गरेको भाषा सभ्य र अमर्या्दित भएको भन्दै संसदको रकेर्डबाट हटाउन माग गरे ।

कांग्रेस सांसद चौधरीले सरकार असफल हुँदै गएको, काण्डैकाण्डको दलदलमा फसेको बताए । उनले भने, ‘जथाभावी कर निर्धारण गरेर ‘करप्रसाद’ ओलीको उपमा पाएका सम्माननीय प्रधानमन्त्रीज्यूको सरकारको कामकारवाही हेर्दा उहाँले सधैं झुटको आश्वासन दिने, झुटको खेती गर्ने भएकाले उहाँको नाम ‘झुटप्रसाद’ ओली उपमा दिँदैमा केही फरक पर्नेवाला छैन ।’

कांग्रेस सांसदले प्रधानमन्त्रीलाई त्यसो भनेपछि नेकपाका सांसद रावलले प्रतिपक्षी दलका नेतालाई भने आफूले शेरबहादुर देउवा होइन, ‘छेरबहादुर’ देउवा भन्न नपरोस् भन्ने चेतावनी दिए । ‘हामीले बोल्ने भाषा सभ्य र सुसंस्कृत हुनुपर्छ । हामीले यहाँ बोलेको कुराबाट जनताले के सिक्ने हेक्का राख्नुपर्छ,’ सांसद रावलले भने, ‘प्रधानमन्त्री केपी ओलीलाई ‘करप्रसाद, झुटप्रसाद’ भन्नुभएको छ । हामीले पनि प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा नभनेर छेरबहादुर देउवा भन्न बाध्य भयौं भने के हुन्छ ?’ उनले चौधरीको अमर्या्िदत र असभ्य भाषा रेकर्डबाट हटाउन माग गरे । सभामुख कृष्णबहादुर महराले आफ्नो ध्यानाकर्षण भएको भन्दै सोबारे पछि निर्णय गर्ने बताए ।

कतिपय सांसदहरुले आफ्ना मर्यादा बिर्सिएर कतिपय अवस्थामा त रेकर्डबाटै हटाउनुपर्ने प्रकारका शब्दसमेत बोल्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement