काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दलका सभापति शेरबहादुर देउवा र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन् । सभापति देउवा सोमबार बिहान प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए ।
भेटवार्तामा कोरोना भाइरस, बाढी पहिरो नियन्त्रण तथा पीडितका लागि राहत र पुर्नस्थापना र संवैधानिक अंगमा हुने नियुक्तीबारे छलफल भएको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए ।
उनले दुवै पार्टी संवैधानिक अंगहरुमा खाली रहेका पदमा नियुक्तिका लागि छलफल अगाडि बढाउन सहमत भएको जानकारी दिए ।
त्यस्तै बैठकमा प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्को बैठक राख्न प्रस्ताव गरेका छन् । प्रधानमन्त्रीले सभापति देउवा र अध्यक्ष प्रचण्डसँग परिषद्को बैठक बस्न नसक्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहितका संवैधानिक अंगका केही पदमा पदपूर्ति हुन नसकेको जानकारी गराएका थिए ।
नेता लेखकले आफूहरुले प्रधानमन्त्रीको प्रस्तावमा समर्थन जनाएको बताए । त्यस्तै सभापति देउवाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणबारे गम्भीर बन्न सरकारलाई आग्रह गरेका छन् ।
सभापति देउवाले सिन्धुपाल्चोकको जुगल गापाको लिदिमा पहिरोको विषयमा पनि सरकारको ध्यानआकर्षण गराएका छन् ।
‘गाउँबासीले दश दिन अघि देखिनै गुहार गर्दा पनि तिनलाई सुरक्षित स्थानमा सार्न सरकारले ध्यान नपु¥याउनु अत्यन्तै दुःखद भएको छ । यति गम्भीर गल्तीको जवाफदेहिता सरकारले लिनुपर्छ कि पर्दैन ?’, उनले प्रश्न गरे ।
सभापति देउवाले त्रिभुवन विश्वविद्यालयमा देखिएका विवाद र विसंगति उपर कुलपतिका रूपमा प्रधानमन्त्रीको ध्यान पुग्न जरुरी रहेको बताए ।
‘निश्चित विधि र संस्कृतिले विश्वविद्यालय चलाउने क्षमता भन्दा राजनैतिक पुर्वाग्रह बढी देखियो’, उनले भने, ‘प्रजातन्त्रवादी प्राध्यापक संघको सभापति लगायतलाई मुद्दा लगाउने, राखिएका जायज मागहरुको सुनुवाइ नगर्ने, किर्तिपुर देखि ठाकुरराम क्याम्पस सम्मका विद्यार्थीलाई थुनामा राख्ने अनि विविध माग राखेर २६ दिन देखि पोखरा विश्वविद्यालयमा अनशनमा बसेका नेविसंघका विद्यार्थीहरुसँग संवाद समेत नगर्ने यस्तो बलमिच्याई प्रवृत्ति प्राज्ञिक थलो सुहाउँदो छैन ।’




प्रतिक्रिया