पूर्व शिक्षामन्त्री धनिराम पौडेलको निधन


काठमाडौं – पूर्व शिक्षामन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य धनिराम (डीआर) पौडेलको निधन भएको छ । उनको हृदयघातका कारण शुक्रबार बिहान चितवनको माडीस्थित आफ्नै निवासमा निधन भएको हो ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले ५४ वर्षीय पौडेलको निधन भएको पुष्टी गरेका छन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पौडेलको निधनप्रति शोक व्यक्त गरेका छन् ।

हाम्रो पार्टीका केन्द्रीय सदस्य तथा पूर्व शिक्षा मन्त्री कमरेड धनीराम (डि. आर.) पौडेलको असामयिक निधनले मर्माहत बनाएको छ । यस दुःखद् घडीमा दिवंगत पौडेलप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनहरुमा हार्दिक समवेदना व्यक्त गर्दछु ।

नारायणकाजी श्रेष्ठले नेतृत्व गरेको पूर्व एकता केन्द्रको विद्यार्थी नेता रहेका पौडेल सो पार्टी माओवादी केन्द्रमा एकता भएपछि संविधानसभा सदस्य र पछि शिक्षामन्त्री बनेका थिए ।

नेकपाको केन्द्रीय सदस्य रहेका पौडेल प्रस्तावित पोलिटब्यूरोको सदस्य थिए । पौडेल चितवनको माडी क्षेत्रका लोकप्रिय नेता थिए ।

नेकपाका इमान्दार नेता पौडेलकी श्रीमति गंगा बेलबासे पनि राजनीतिमा सक्रिय छन । उनीहरूका दुई छोरी छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement