काठमाण्डु – संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी भएपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपामा नयाँ तरंग मच्चिएको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेकी थिइन् ।
पार्टीमा छलफल नगरी प्रधानमन्त्रीले एकलौटी निर्णय लिएर अध्यादेश जारी गराएको भन्दै अध्यादेशकै विषयमा छलफल गर्न नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा असन्तुष्ट नेताहरु भेला भएका छन् ।
उक्त भेलामा प्रचण्डसहित नेकपा वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी भएको स्रोतले जनाएको छ । राष्ट्रपतिले संवैधानिक अध्यादेश जारी गरेपछि प्रचण्डले राष्ट्रपति र प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै अध्यादेश तत्काल खारेज हुनुपर्ने माग राखेका छन् ।
त्यस्तै झलनाथ खनालले नेकपा स्थायी कमिटीको बैठक जारी रहेका बेला पार्टीलाई कुनै सूचना नै नदिइ गरिएका सरकारका यस्ता क्रियाकलाप आपत्तिजनक रहेको बताएका छन् । त्यस्तै अध्यादेशबारे प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले समेत आपत्ति जनाएको छ ।




प्रतिक्रिया