नेकपा विवादः एउटै दलका दुई प्रमुख सचेतक, संकटमा संसद सचिवालय !

नेकपा विवादः एउटै दलका दुई प्रमुख सचेतक, संकटमा संसद सचिवालय !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिकता विवाद नटुंगिदा संसद सचिवालय अप्ठ्यारोमा परेको छ ।

फागुन २३ गतेका लागि बोलाइएको संसद बैठकमा नेकपाका दुबै समूहलाई सत्तारुढ दलकै रुपमा राख्ने सचिवालयले तयारी गरेको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए । उनले नेकपा आधिकारिक रुपमा फुटिनसकेका कारण सचिवालयले नेकपालाई एउटै दलका रुपमा चिन्ने बताए ।

त्यस्तै संसद बैठक बस्नुअघि सभामुखले बोलाउने कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि कसरी प्रतिनिधित्व गर्ने भन्नेमा अन्योल देखिएको छ । नेकपा संसदीय दलका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख सचेतकका रुपमा रहेका देवप्रसाद गुरुङलाई हटाएर विशाल भट्टराईलाई नियुक्त गरेपछि थप संकट परेको हो ।

संसदीय नियमावलीमा संसदीय दलका नेताले प्रमुख सचेतक वा सचेतक संसदीय दलका नेताले चयन गर्न सक्ने व्यवस्था छ । यही आधारमा संसद सचिवालयले भट्टराईलाई नेकपाका प्रमुख सचेतक मानेको छ ।

तर, नेकपा प्रचण्ड–माधव समूहका नेता समेत रहेका गुरुङले पार्टीको साधारण सदस्यता समेत नरहेका ओलीले हटाएर आफू नहट्ने भन्दै नेकपाको आधिकारिक प्रमुख सचेतक आफैं भएको दाबी गरेका छन् ।

यस्तो अवस्थामा के गर्ने भनेर सभामुख अग्नि सापकोटाले छलफल थालेका छन् । कानूनी रुपमा प्रमुख सचेतककै हैसियतमा भट्टराईलाई बोलाउनुपर्ने भएपनि गुरुङलाई पनि बैठकमा बोलाउने बाटोको खोजीमा सभामुख सापकोटा रहेको उनको सचिवालयले जनाएको छ ।