काठमाण्डु – प्रतिनिधिसभा विघटनविरुद्ध सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव नेपाल समूहले आज देशभर विरोध प्रदर्शन गर्दैछ । सो समूहले केन्द्रीय राजधानी काठमाण्डुको विरोध प्रदर्शनमा ५० हजार कार्यकर्ता उतार्ने दाबी गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै विभाजित भएको नेकपाका प्रचण्ड–नेपाल समूहले विघटनविरुद्ध सडक प्रदर्शन गर्न लागेको हो ।
आज बिहान ११ बजेदेखि काठमाण्डु उपत्यकाको टेकु, कुपन्डोल, नयाँबानेश्वर, लैनचौर र नक्शालबाट जुलुस सुरु हुनेछन् । यसैगरी रत्नपार्कबाट मजदुर, त्रिचन्द्र क्याम्पस अगाडिबाट विद्यार्थी र प्रदर्शनीमार्गबाट युवाहरुको जुलुस निकालिने युवा संघका अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ले जानकारी दिए ।
ती जुलुसहरु भृकुटीमण्डपमा जम्मा हुने र विरोध सभालाई नेकपाका शीर्ष नेताहरू अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।
सरकारले प्रतिनिधिसभा विघटन गरेको विरोधमा दैनिकजसो आन्दोलन हुँदै आएको छ । सोमबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशभर विरोध प्रदर्शन गरेको थियो । जनता समाजवादी पार्टी, नागरिक अगुवा, विद्यार्थी र युवाहरुले पनि विरोध प्रदर्शन गर्दै आएका छन् ।




प्रतिक्रिया