काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपाका नेता माधवकुमार नेपाल पक्ष बालुवाटार पुगेका छन् ।
नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान ११ बजेका लागि डाकिएको नेकपाको स्थायी कमिटी बैठक एकतर्फी स्थगित गरेका थिए ।
आफुहरुलाई आधिकारिक जानकारी नै नदिइकन बैठक अनिश्चितकालका लागि स्थगित गरिएको र बैठक सुचारू हुनुपर्ने भन्दै अध्यक्ष प्रचण्ड पक्ष र नेपाल पक्षका नेताहरु बालुवाटार पुगेका हुन् ।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘हामी १५–२० जान साथीहरू बैठकस्थलमै छौं,’ उनले भने, ‘बैठक स्थगित भएको जानकारी छैन, हामी बैठकको पर्खाइमा छौं ।’
अध्यक्ष प्रचण्ड, बरिष्ठ नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, महासचिव विष्णु पौडेलसहित अन्य स्थायी समिति सदस्यहरू बैठक हलमै छन् ।
नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग कमिटी बैठक सुरु हुभन्दा अगाडी दुई अध्यक्षबीच हुने भनिएको छलफलका लागि अर्का अध्यक्ष प्रचण्ड नआएपछि बैठक स्थगित भएको प्रधानमन्त्री निकट स्रोतको दाबी छ ।
‘प्रधानमन्त्री र प्रचण्डबीच ९ बजे भेटघाट हुने तय भएको थियो । तर उहाँ साढे १० बजेसम्म पनि आउनुभएन । फोन गर्दा पनि सम्पर्क हुन सकेन,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘महासचिव विष्णु पौडेलले समन्वय गर्न खोज्दा समेत सफल नभएपछि बैठक स्थगित गरिएको हो ।’
प्रचण्ड निकट स्रोतले भने दुई अध्यक्षबीचमा फोनमा कुराकानी भइरहेको तर एकतर्फी बैठक स्थगित गरिएको दाबी गरेको छ ।




प्रतिक्रिया