नेकपाका प्रवक्ता नारायणकाजीले किन दिए पदबाट राजीनामा ?

नेकपाका प्रवक्ता नारायणकाजीले किन दिए पदबाट राजीनामा ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रवक्ता पदबाट राजीनामा दिएका छन् ।

अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै उनले गत शनिबारको केन्द्रीय सचिवालय बैठकमा प्रवक्ता पदबाट राजीनामा दिएका हुन् । पार्टी नीतिविपरीत डा. गोविन्द केसीलाई भेटेर नैतिक समर्थन जनाएको भन्दै प्रवक्ता श्रेष्ठसँग पछिल्लो सचिवालय बैठकमा अध्यक्ष ओलीले मौखिक स्पष्टीकरण लिएका थिए ।

‘पार्टीको जानकारीविना तपाईंले किन भेट्नुभो, कसको अनुमतिमा भेट्नुभो, सामाजिक सञ्जालमा भेटको प्रचार पनि गर्नुभएछ’ भन्दै बैठकमा ओलीले स्पष्टीकरण लिएका थिए । अर्का अध्यक्ष प्रचण्डले पनि ‘पार्टीको जानकारीविना भेटेर गलत काम गरेको र उनको नाममा कांग्रेसको आन्दोलनलाई मलजल गरेको’ भन्दै ओलीको भनाइलाई समर्थन जनाएपछि श्रेष्ठले तत्काल राजीनामाको घोषणा गरेको सचिवालयका एक नेताले बताए ।

राजीनामा दिएर बैठककै बीचमा बाहिरिए श्रेष्ठ
दुवै अध्यक्षले पालैपालो स्पष्टीकरण सोधेपछि प्रवक्ता श्रेष्ठले ‘मैले किन भेट्न नपाउने ?’ भन्दै झोक्किएर राजीनामाको घोषणा गरेको र थोरै शब्दको राजीनामापत्र लेखेर बाहिरिएको एक नेताले बताए । ‘त्यसो भए मलाई यो प्रवक्ता पद चाहिएन, मैले राजीनामा दिएँ भन्दै लिखित राजीनामापत्र बुझाएर उहाँ बैठकबाट बाहिरिनुभो,’ ती सचिवालय सदस्यले भने ।

‘मैले डा. केसी मूलतः सत्याग्रही हुनुहुन्छ र उहाँले उठाउनुभएको मूल मुद्दा सही छ, माथेमा प्रतिवेदनको मूल पक्ष सकारात्मक छ, हाम्रो पार्टीका नेता–कार्यकर्ताले पनि विनापूर्वाग्रह यसलाई आत्मसात् गरी वार्ताद्वारा समस्याको समाधान गर्नुपर्छ भन्दा तीव्र विरोध गर्नेलाई पनि अहिले धन्यवाद छ,’ प्रवक्ता श्रेष्ठले डा. केसीलाई भेटिसकेपछि १० साउनमा ट्विटरमा लेखेका थिए ।

उनले तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङको विवादित भिडियो सार्वजनिक भएपछि पनि ‘तामाङले गलत काम गरेकाले माफी माग्नुपर्ने र पार्टीको ध्यानाकर्षण हुनुपर्ने’ भन्दै सामाजिक सञ्जालमा धारणा राखेका थिए ।

प्रवक्ताले नै पार्टी नीतिविपरीत गतिविधि गर्न थालेको र व्यक्तिगत धारणा सामाजिक सञ्जालमा व्यक्त गर्न थालेको भन्दै अध्यक्ष ओली उनीसँग असन्तुष्ट थिए । श्रेष्ठले भने अध्यक्षसँग सम्पर्क नै नहुने, बैठक र छलफलहरूमा पनि लामो समयसम्म कुराउने गरेकाले कार्यशैली ठीक नभएकाले आफूले प्रवक्ता पदबाट राजीनामा दिएको निकटस्थहरूलाई बताएका छन् ।

अध्यक्षद्वयप्रति असन्तुष्ट श्रेष्ठ गत ८ साउनमा पार्टी कार्यालय धुम्बाराहीमा आयोजित प्रेस चौतारी नेपाल र प्रेस सेन्टरको संयुक्त भेलामा पनि अनुपस्थित थिए । सो भेलालाई दुवै अध्यक्षले सम्बोधन गरेका थिए ।

फकाउने जिम्मा माधव नेपाललाई

स्रोतका अनुसार राजीनामापत्र फिर्ता नलिएपछि अध्यक्ष ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई श्रेष्ठलाई सम्झाएर पूर्ववत् जिम्मेवारीमा फर्काउने वातावरण निर्माणको जिम्मेवारी दिएका छन् । वरिष्ठ नेता नेपाल कम्बोडियाबाट सोमबार स्वदेश फर्किएलगत्तै अध्यक्ष ओलीले सो जिम्मेवारी दिएका हुन् । तर, केही दिनयता घाँटीको समस्याका कारण घरमै आराम गरिरहेका प्रवक्ता श्रेष्ठ भने शीर्ष नेताहरूसँग सम्पर्कमा नरहेको स्रोतले जनाएको छ । यो खबर आजको नयांपत्रिकामा छ ।