काठमाण्डु – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को विवाद उत्कर्षमा पुगेको छ । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच गत बुधबार र बिहीबार भएको भेटवार्ता बिना निष्कर्ष टुंगिएको थियो ।
दुवै नेताको आ–आफ्नै अडानका कारण नेकपा एमाले अहिले फुटको संघारमा पुगेको हो । सर्वोच्च अदालतले गत फागुन २३ मा नेकपा विभाजन गराई एमालेलाई पूर्ववत् अवस्थामा फर्काएपछि तत्कालिन नेकपाको विवाद नै नेकपा एमालेमा सरेको देखिन्छ ।
एमाले स्रोतअनुसार दुवै नेताबीच सहमति नजुटेपछि एमाले फुटको अवस्थामा पुगेको हो । पार्टी अध्यक्ष ओली सहमति गर्दै नगर्ने, नेता नेपाल झुक्दै नझुक्ने अडानले अन्ततः एमाले फुट्ने निश्चित नै भएको स्रोतको दाबी छ ।
झन्डै पाँच महिनादेखिको संवादहिनता तोड्दै गत बुधवार र बिहीबार दुवै नेताबीच भएको छलफलले एमालेलाई निकास दिने धेरैको अपेक्षा थियो । तर, एकले अर्काको अस्तित्व स्वीकार्नै नसक्ने अवस्थामा पुगेपछि विवाद झनै बढेको एमाले नेताहरू बताउँछन् ।
नेपाल समूह २ जेठ २०७५ को अवस्थाबाट पार्टी सञ्चालन गर्नुपर्ने अडानमा छ, भने ओली आफ्नो निर्णय सच्याउन सहमत छैनन् । विवादकै कारण आफ्नो बहुमत हुदाँहुँदै पनि एमालेले कर्णाली प्रदेश सरकारको नेतृत्व गर्ने अवसर गुमाएको छ ।
ओली र नेपालबीचको मिलन सम्भव छ त ? भनेर राजनीतिक वृत्तमा चर्चा चलिरहँदा दुवै समूहले गुटगत गतिविधिलाई तीव्रता दिइरहेका छन् । दुवै पक्षका गतिविधि हेर्दा कोही पनि मिलनको दिशामा देखिएका छैनन् । उनीहरु आरोप प्रत्यारोपमै व्यस्त छन् । पार्टीलाई एक ढिक्का बनाउन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले चाहे पनि नेपाल पक्षले फुटाउनै खोजेको ओली समूहको आरोप छ ।
ओली पक्षीय नेता तिलक महत भन्छन्, ‘प्रधानमन्त्रीज्युले त चाहनुभएकै छ, उहाँले बोलाएर नै माधव नेपालसँग सहमति र सहकार्यका लागि एकजुट हुन आह्वान गर्नुभएकै हो तर उहाँहरू आफ्नो गुटगत मागमै अडिग भएपछि त्यो सम्भव देखिएन । हामी सबै मिलेर एमालेलाई बलियो बनाऔँ भन्दै गर्दा पार्टी विरोधी गतिविधि गरेर उहाँहरु हिँड्नुभएको छ अनि कसरी जुट्छ सहमति ?’
यता नेपाल पक्षीय नेताहरूले भने नेकपा एमाले फुटेको औपचारिक घोषण हुन मात्रै बाँकी रहेको जनाएका छन् । २०७६ पुस ५ गते प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले पार्टीमा सल्लाह नै नगरी गरेको संसद् विघटन ले नै एमाले फुटेको सङ्केत गरेको उनीहरूको तर्क छ ।
नेपाल पक्षीय केन्द्रीय सदस्य प्रेमल खनाल भन्छन्, ‘अध्यक्ष ओलीले आफू कमजोर भएपछि संविधान र कानुन मिचेर अगाडी बढ्नुभएको छ त्यो हामीलाई स्वीकार्य छैन, २०७३ जेठ २ मा फर्कँदा आफ्नो पक्षमा बहुमत नपुग्ने भएपछि जे मन लाग्यो त्यही गर्ने पार्टिको विधानमान्नु पर्दैन , सर सल्ला गर्न पर्दैन ,आफु कमजोर हुने देखीएपछि आफ्ना पक्षकालाई मनोनित गर्ने केहो उहाँको प्रवृति ? सबै भन्दा पहिले उहाँलेनै समानान्तर कमिटी बनाउनु भयो पार्टीलाई फुटाउन खोज्नुभयो आफुलाई चित्तन नबुझेकालाई धमाधम कार्वाही थाल्नुभयो यसरी चल्छ पार्टी ?’
२०७२ जेठ २ मा पार्टी जस्तो अवस्थामा थियो त्यस्तै अवस्थामा हुने हो भने कुनै विवाद नआउने उनको भनाई छ । उनी भन्छन्, ‘२ जेठ २०७३मा जस्तो अवस्थामा थियो त्यस्तै अवस्थामा ल्याउनुहोस् त्यसपछि विवाद नै छैन, अनि छलफल गरेर कसरी अगाडी बढाउने कि के गर्ने भन्नेबारे छलफल गरौला, तर अहिले मनपरी गर्न पाइँदैन ।’
पार्टी भित्रको विवाद धेरै अगाडि बढिसकेको बताउँदै अव एक हुने अवस्था नदेखिएको नेता खनालले बताए । प्रधानमन्त्री ओली भन्दा आफूहरू कानुनी रूपमा बलियो रहेको बताउँदै आधिकारिक एमाले नेपाल पक्ष रहेको दाबी गरे ।
अध्यक्ष ओलीले एमालेको ९औँ महाधिवेशनबाट निर्वाचित नेपाल समूहका नेताहरूलाई जिम्मेवारीविहीन बनाएपछि एमालेभित्रको विवाद झन् बढ्दै गइरहेको छ ।




प्रतिक्रिया