काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवादले उग्र रुप लिएको छ । असार १८ गतेदेखि निरन्तर स्थायी कमिटी बैठक स्थगित हुँदै आएपछि दोस्रो तहका नेताहरुले सक्रयिता बढाउन थालेका छन् ।
मंगलबार स्थायी कमिटी सदस्य बैठक स्थगित भएपछि नेकपाका तीन जना नेताको बैठक सिंहदरबारमा बसेको हो ।बैठकले पार्टी एकता धरापमा परेको भन्दै गम्भीर कदम चाल्ने निर्णय गरेको छ ।
कृषि मन्त्रालय सिंहदरबारमा कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको बैठकले यस्तो निर्णय गरेको थियो ।
सिंहदरबारमा तीन जना नेताबीच भएको बैठकको निष्कर्ष बोकेर मन्त्री भुसाल बालुवाटार पुगेका छन् । उनले नेकपाका अध्यक्षद्व केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, नेता माधवकुमार नेपाल र झलनाथ खनाललाई पनि भेटेर उक्त निर्णय सुनाउने बताइएको छ ।
छलफलले हाल स्थगित रहेको स्थायी कमिटी बैठकमा सरकार र पार्टीको कामको समीक्षा नगर्ने र बाँकी एजेन्डामा मात्र केन्द्रित रहने गरी बैठक अघि बढाउन आग्रह गरेका छन् ।
उनीहरूको छलफलले पार्टीको विवाद गम्भीर मोडमा पुगेकाले पार्टीलाई विभाजन हुन नदिन स्थायी समिति बैठक चलाउने, तर सरकार र पार्टीको कामको समीक्षाको एजेन्डालाई हाललाई स्थगन गरेर बाँकी एजेन्डामा बैठक चलाउन शीर्ष नेताहरूलाई आग्रह गर्ने निष्कर्ष निकालेको छ ।
पर्यटनमन्त्री योगेश भट्टराईले पार्टी दुर्घटना नजिक पुगेको भन्दै चिन्ता व्यक्त गरेका छन् । नेकपाभित्रको आन्तरिक किचलो चरम अवस्थामा पुगेका बेला भट्टराईले सबैलाई रोकिन आग्रह गरेका हुन् ।
मन्त्री भट्टराईले भनेका छन्, ‘दुर्घटना नजिक देखिन्छ, सबै रोकिऔं, सल्लाह गरौ ।’




प्रतिक्रिया