नेकपा एसमा लफडा : के होला विद्रोही मन्त्रीहरुको आगामी रणनीति ?

नेकपा एसमा लफडा : के होला विद्रोही मन्त्रीहरुको आगामी रणनीति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एकीकृत समाजवादीले सरकारमा रहेका मन्त्री फिर्ता बोलाउने निर्णय गरेसँगै पार्टीभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । पुरानालाई फिर्ता बोलाएर नयाँ व्यक्तिलाई मन्त्री बनाउने निर्णयले पार्टी फुटको संघार नजिक पुगेको हो ।

नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री देउवा नेतृत्वको सरकारमा सहभागी हुँदा नै ६ महिनाका लागि मात्रै भनेर पठाएको थियो । तर एमालेबाट फुटेर पार्टी गठन भएको १० महिनामै विवादमा फसेको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले जेठ २२ गतेको सचिवालय बैठकमा सरकारमा सहभागी चारै जना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गराएका थिए । तर, उक्त निर्णय कार्यान्वयन भने हुन सकेन ।

स्वास्थ्यमन्त्री विरोध खतिवडा, सहरी विकास मन्त्री रामकुमारी झाक्री, श्रम मन्त्री किसान श्रेष्ठ र पर्यटन मन्त्री प्रेम आलेले सरकारबाट फिर्ता नहुने अडान राखेका छन् । चार मन्त्रीसहित १० सांसदले आजैमात्र अध्यक्ष नेपाललाई पार्टीभित्र विद्रोहको सन्देश दिने खालको ८ बुँदे ध्यानाकर्षणपत्र बुझाएका छन् ।

एकीकृत समाजवादीका ३१ मध्ये १० जना सांसद माधव र झलनाथको विरुद्धमा उभिएका हुन् । ध्यानकर्षण पत्रमा हस्ताक्षर गर्नेमा चार मन्त्रीसहित गोपाल बम, कृष्ण लाल महर्जन,पुष्पा कुमारी कर्ण,धनवबहादुर बुढा, निरा देवी जैरु र बिना देवी बुढाथोकी रहेका छन् ।

उनीहरुले सरकारबाट फिर्ता बोलाउने निर्णयको मात्र हैन नयाँ सिफारिस गरिएका नाममा पनि विरोध गरेका छन् ।प्रस्तावित मन्त्रीको टिम असमावेशी भएको सरकारमा सहभागी मन्त्रीहरुको भनाइ छ । महिलालाई मन्त्रीमा सिफारिस नगरिएकोमा पनि उनीहरुको विरोध छ ।

स्वास्थ्य राज्यमन्त्री भवानी खापुङलाई हटाउनुको सट्टा मन्त्रीमा बढुवा गरेको तर अरु मन्त्रीहरुलाई हटाएको भन्दै समाजवादीका मन्त्रीहरुले विरोध गरेका हुन् । सबैलाई ६ महिनाका लागि मन्त्री बनाइएको भन्दै उनीहरुले खापुङको हकमा पनि लागू हुनुपर्ने माग गरेका छन् ।

नेकपा एसले जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शेरबहादुर कुँवरलाई श्रम, भवानी खापुङलाई स्वास्थ्य तथा जनसङ्ख्या, मेटमणि चौधरी शहरी विकास र हिरा केसीलाई स्वास्थ्य राज्यमन्त्रीका लागि सिफारिस गरेको थियो ।

उक्त सिफारिसप्रति मन्त्रीहरुले उठाएको अर्को प्रश्न हो – सांसद नै नभएको व्यक्तिलाई पनि मन्त्रीमा सिफारिस । श्रम मन्त्रीमा सिफारिस भएका कुँवर सांसद होइनन् । गैरसांसदलाई मन्त्री बनाउन नहुँने उनीहरुको भनाई छ ।

समाजवादीको विवादले कस्तो मोड लेला ?

माधव कुमार नेपाल नेतृत्वको पार्टीभित्र मन्त्री फेर्ने विषयमा उत्पन्न विवाद उत्कर्षमा पुगेका बेला सरकारले भने संघीय निर्वाचनको मित तोक्ने तयारी गरिरहेको छ । हाल उत्पनन विवाद तत्कालै समाधान हुने देखिँदैन ।

किनभने एकातिर नेपाल–खनाल लगायतका नेताहरु जसरी पनि निर्णय कार्यान्वयन गराउने पक्षमा छन् भने अर्कातिर मन्त्रीहरु गठबन्धनका अन्य नेताहरुलाई गुहारेर सरकारबाट फिर्ता नहुने अड्डी कसिरहेका छन् ।

सरकारमा सहभागिता सम्बन्धिको विवादले एकीकृत समाजवादीलाई बिग्रहको बाटोमा लिन सक्ने आंकलन समेत गरिन थालिएको छ । नेकपा एसमा विवाद चर्किरहेका बेला अर्कोतिर बाम गठबन्धनको समेत चर्चा भइरहेको छ ।

नेकपा माओवादी केन्द्र र नेकपा एमालेका नेताहरुको बिचमा वाम गठबन्धनका बारेमा अनौपचारिक संवादहरु भइरहेको छ । उक्त सवांदले सफलता पाए एमाले, माओवादी र एकीकृत समाजवादीको चुनावी गठबन्धन बन्न सक्ने स्रोतले बतायो । असन्तुष्ट मन्त्री प्रेम आलेले त आँन्तरिक रुपमा एमाले प्रवेश गर्ने तयारी समेत थालिसकेका छन् ।

उनले भित्रभित्रै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सम्वाद बढाइरहेको स्रोतले जानकारी दियो । यस्तो अवस्थामा असन्तुष्ट रहेका नेकपा एसका मन्त्रीहरुको आगामी रणनीति के हुन्छ ? भन्नेबारे थाहा पाउन भने केहीदिन पर्खनै पर्ने हुन्छ ।