सभापति कुट्नेमाथि कारबाही नभएको भन्दै कांग्रेसले दियो आन्दोलन चर्काउने चेतावनी


बाँके – बाँके पार्टी सभापति किरण कोइरालालगायतका नेता माथि हातपात र कुटपिट गरेको अभियोगमा किटानी जाहेरी दिँदासमेत दोषी उपर कारवाही नगरेको भन्दै नेपाली कांग्रेस बाँकेले आपत्ति जनाएको छ ।

पार्टीका बाँके सभापति कोइरालाको हात भाँच्ने गरि अभद्र व्यवहार गरेको विषयमा सत्य, तथ्य छानविन नै नगरि दोषीलाई उन्मुक्ति दिएको कांग्रेस बाँकेको आरोप छ । कांग्रेस बाँकेका सचिव कपिलदेव शर्माले एक विज्ञप्ति जारी गर्दै घटनाको सत्य तथ्य छानविन गरि दोषीलाई कारवाहीको माग गरेका छन् ।

प्रमाणको अभावमा जिल्ला सरकारी वकिलको कार्यालयले मुद्धा चलाउन नसक्ने भनि जवाफ दिएको प्रति आपत्ती जनाउँदै कांग्रेसले प्रहरी, प्रशासन, सरकारी वकिल कार्यालय र कम्युनिष्ट सरकारको मिलोमतोमा मुख्य दोषीलाई छुट्कारा दिएको आरोप लगाएको छ ।

‘मुख्य दोषीलाई कानुन बमोजिम कारवाही नगरि अन्य व्यक्तिलाई मात्र मुद्धा चलाएको प्रति हाम्रो घोर आपत्ती छ’, विज्ञप्तीमा भनिएको छ ।

राजनैतिक दबावमा घटनाको सत्य तथ्य जाँच नगरि एकतर्फी रुपमा सत्ताको दुरुपयोग गर्दै प्रहरी प्रमुखले पार्टी सभापतिलगायत सांसदलाई धम्क्याउने मनसायले फोन गरेको आरोप समेत कांग्रेसले लगाएको छ ।

मूख्य दोषीलाई कारबाही र पीडितलाई न्याय दिन माग गर्दै शर्माले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘आरोपीलाई कारवाही र पीडितलाई न्याय नदिए नेपाली कांग्रेस पुनः आन्दोलनको कार्यक्रम घोषणा गरि सशक्त आन्दोलन गर्ने चेतावनी दिन चाहन्छौँ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement