काठमाण्डु– विश्वव्यापी भ्रष्टाचार सूचकांकमा नेपाल १०७औं स्थानमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेसल (टीआई) ले मंगलबार सीपीआई प्रतिवेदन सार्वजनिक गर्दै १८० मुलुकमध्ये नेपाल ३४ अंक पाएर १०७औं स्थानमा परेको जनाएको हो ।
अघिल्लो बर्ष भ्रष्टाचार सूचकांकमा नेपाल १०८औं नम्वरमा रहेकामा यसपटक भने एक अंक सुधार गरेको टीआईले जनाएको छ ।
प्रतिवेदनका आधारमा साउथ सुडान ८ अंकसहित सबैभन्दा धेरै भ्रष्टाचार हुने देशमा परेको छ । यस्तै दक्षिण एसियामा सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा अफगानिस्तान परेको छ ।
यस्तै ७ वर्षदेखि लगातार ९० अंक प्राप्त गरि विश्वको सबैभन्दा कम भ्रष्टाचार हुने देशमा परेको छ डेनमार्क भने दक्षिण एसियामा सबैभन्दा कम भ्रष्टाचार हुने देशमा भुटान परेको छ । भुटान ७२ अंकमा परेको छ ।
सन् ०२२ मा नेपालको अंक ३४ सहित ११०औं स्थान थियो भने सन् ०२३ मा ३५ अंक पाएर नेपाल १०८ औं स्थानमा रहेको थियो । अघिल्लो वर्षको तुलनामा ०२४ मा एक अंक सुधार भएको देखिन्छ । गत वर्षको तुलनामा केही सुधार भए पनि भ्रष्टाचार व्याप्त मुलुककै सूचीमा नेपाल रहेको छ ।
सीपीआईको तथ्याङ्क अनुसार ११ वर्षयता मुलुकमा भ्रष्टाचार नियन्त्रणमा कुनै सुधार हुन सकेको छैन। १, २ अंक तलमाथि हुने बाहेक उल्लखेनीय सुधार भएको छैन।
सन् २०१२ मा नेपालको कुल अंक २७ थियो। त्यतिबेला १३९ औं स्थानमा थियो। २०१३ मा ३१ अंक प्राप्त गरी ११६औं स्थानमा आयो। त्यस्तै सन् २०१४ मा २९ अंक प्राप्त गरी १२६ र २०१५ मा २७ अंक प्राप्त गरी १३०औं स्थानमा थियो।
त्यस्तै २०१६ मा २९ अंकसहित १३१, २०१७ मा ३१ अंकसहित १२२औं स्थान, २०१८ मा ३१ अंकसहित १२४ स्थानमा परेको थियो। त्यस्तै २०१९ मा ३४ अंकसहित ११३औं, सन २०२० मा ३३ अंकसहित ११७औं, २०२१ मा ३३ अंकसहित ११७औं, २०२२ मा ३४ अंकसहित ११०औं र २०२३ मा ३५ अंकसहित १०८औं स्थान र २०२४मा ३४ अंकसहित १०७ औं स्थानमा रहेको छ ।




प्रतिक्रिया