न्यून चापीय प्रणाली नेपालबाट बाहिरियो, मौसममा सुधार आउँदै

न्यून चापीय प्रणाली नेपालबाट बाहिरियो, मौसममा सुधार आउँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जल तथा मौसम विज्ञान विभागले न्यून चापीय प्रणाली नेपालबाट बाहिरिसकेकाले मनसुन कमजोर हुँदै मौसममा सुधार आउन थालेको बताएको छ ।

विभागले आईतबार विज्ञप्ति जारी गर्दै मौसममा सुधार आउन थालेको जानकारी दिएको हो ।

यद्यपि अझै पनि आकस्मिक बाढी र डुबानको जोखिमलाई ध्यानमा राख्दै विभागले आफ्ना वेबसाइट, सामाजिक सञ्जाल, टोल फ्री नम्बर ११५५ र एसएमएस सेवामार्फत नियमित जानकारी लिन र आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ ।

अविरल वर्षाका कारण असोज १८ गतेदेखि बागमती, विष्णुमती, कमला, लल्बकैया लगायतका नदीमा जलसतह खतरा तह नाघेको र हाल भने घट्दो अवस्थामा रहेको विभागले जनाएको छ ।

असोज १९ गते बिहान सापेक्ष रूपमा सिकोशी नदी र यसको सहायक नदीहरू तमोर, सुनकोशी र अरुणमा समेत खतरा तह नाघेर अहिले घट्दो अवस्थामा पुगेको छ ।

बंगालको खाडीबाट विकसित न्यून चापीय प्रणालीको प्रभावले २०८२ असोज १७ गते साँझदेखि १९ गते बिहानसम्म देशका विभिन्न भागमा अविरल वर्षा भएको छ । यस अवधिमा विशेषगरी मधेश र बागमती प्रदेशका अधिकांश स्थानमा भारीदेखि अति भारी वर्षा र कोशी प्रदेशका कतिपय स्थानमा मध्यमदेखि भारी वर्षा मापन गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार २४ घण्टाभित्र रौतहटको महेशपुरमा ३५८ मिलिमिटर वर्षा मापन भएको छ ।

असोज १९ गते बिहानसम्म देशभरका २९५ वटा वर्षा मापन केन्द्रमध्ये १८६ वटामा वर्षा भएको थियो । तीमध्ये १०५ वटामा ५० मिलिमिटरभन्दा बढी, ६८ वटामा १०० मिलिमिटरभन्दा बढी, २१ वटामा २०० मिलिमिटरभन्दा बढी र ५ वटामा ३०० मिलिमिटरभन्दा बढी वर्षा मापन भएको विभागले जनाएको छ ।

कनकाई, बुढी खोला, लोहन्रा, खेसलैया र बिरिङ नदीमा समेत जलसतह खतरा तह पार गरेर हाल स्थिर हुँदै गएको छ ।

तर कोशी नदी चतरा केन्द्रमा बहाव खतरा तहको नजिक रहेकाले बाढी र डुबानको जोखिम यथावत रहेको विभागले चेतावनी दिएको छ । विभागले असोज २० गते मध्याह्नसम्म सबै सरोकारवालाहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।