काठमाण्डु – नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले फेरी नियम मिच्ने काम गरेका छन् । पास रर्याम्प ज्याकेट बिनै जहाज पार्किङ गरिएको संवेदनशील क्षेत्र (एप्रोन) मा पुगेको घटनामा आफै कारबाहीमा परेका अधिकारीले फेरी निगममा मनपरी सुरु गरेका हुन् । अधिकारी निगमको नेतृत्वमा आएदेखि नै निगमको ओरालो यात्रा लागिरहेको छ ।
नेपाल वायु सेवा निगममा एक पछि अर्को लापरवाहीका घटनाहरु सार्वजनिक भएसंगै अधिकारीले फेरी सबैलाई चकित बनाउने निर्णय गरेका हुन् । उनले घटनाको ढाकछोप गर्न निगमका अपरेशन विभाग प्रमुख रवीन्द्र शेरचन र प्रवक्ता अर्चना खड्कालाई हटाएर योग्यता नै नपुगेका जुनियर पाइलट उद्धव घिमिरेलाई अपरेसन विभागको प्रमुख बनाएका छन् ।
निगममा लापरवाहीका घटना सार्वजनिक भएको र राष्ट्रिय ध्वजावाहकको बेइज्जत भएको भन्दै संसदमा समेत प्रश्न उठिरहेको बेला निगमभित्र भने वेथिति बढेको हो ।
निगममा कार्यकारी अध्यक्ष अधिकारी, पाइलट घिमिरे र प्रधानमन्त्री पुष्पकमल दाहालका भान्जा नाता पर्ने क्याप्टेन सुरज भण्डारी मिलेर अहिले निगममा सेटिङमा काम भइरहेको स्रोत बताउंछ । भण्डारीकै जोडबलमा अहिले घिमिरेलाई ओडी बनाइएको बताइन्छ । उनि स्थायी हुनकै लागि अहिले निगमभित्र चलखेलमा सक्रिय छन् । यसबारेमा भण्डारीको प्रतिक्रिया लिन खोज्दा उनि सम्पर्कमा आएनन् ।
निगम स्रोतले दिएको जानकारीअनुसार अधिकारीले आफ्नो गल्ति ढाकछोप गर्न अपरेशन विभाग प्रमुख र प्रवक्तालाई हटाएर योग्यता नै नपुगेका आफु निकटलाई जिम्मेवारीमा ल्याउन सफल भएका हुन् । तर, त्यसको पछाडी भण्डारीको भूमिका रहेको बताइन्छ । उनले नै प्रधानमन्त्री दाहाल र पर्यटनमन्त्री सुदन किरातीलाई आफुले मिलाउने भन्दै अधिकारीलाई आश्वस्त पारेको स्रोत बताउंछ ।
घिमिरे केही समयअघि मात्र क्याप्टन भएका हुन् । निगममा अपरेसन विभागको प्रमुख हुनका लागि पाँच वर्ष व्यवस्थापन तहमा काम गरेको हुनुपर्ने नियम छ । तर, उनीसंग एक दिन पनि व्यवस्थापनमा बसेर काम गरेको अनुभव छैन् । घिमिरे निगमको जहाज उडाउने भन्दा बाहिर सेटिङमा बढी लाग्ने पाइलट हुन् ।
सिनियर पाइलटलाई पाखा लगाएर उनले घिमिरेलाई अपरेशन विभागमा ल्याएपछि निगमभित्र असन्तुष्टि छाएको हो । निगममा अहिले पाइलट र क्याविन क्रु नै गुट उपगुट बनाउने काममा लागेका छन् । जसले गर्दा सुरक्षामा समेत प्रभाव पर्ने अवस्था छ ।
अधिकारीले अपरेशन विभागको प्रमुख नियुक्त गरेका घिमिरे नेपाल एयरलाइन्सभित्र विवादित पाइलट हुन् । तत्कालिन पर्यटनमन्त्री प्रेम आले र निगमका कार्यकारी अध्यक्ष अधिकारीबीच टेलिफोन सम्बांद समेत घिमिरेले नै मिडियामा पठाएको आरोप लागेको थियो । उनि सुरुमा तत्कालिन पर्यटनमन्त्री आलेसंग निकट रहेर पर्यटनमन्त्रालयमा सेटिङको काममा समेत सक्रिय थिए । घिमिरेले सुरुमा आलेलाई खुसी पार्न द्धारिका होटलबाटै खाजा समेत पठाउने गरेको उनि निकट स्रोतको दावी छ ।
सुरुमा चिनियां जहाज वाई १२ को उडान गरिरहेका घिमिरे पछि एयरबस ३२० को तालिममा गएका थिए । पाइलटहरु नहुंदा अहिले वाई १२ जहाजलाई निगमले वेच्ने तयारी गरिरहेको छ ।
अधिकारीले निगमले आफै वनाएको नियम विपरित उनलाई ओडी नियुक्त गरेसंगै त्यसको उजुरी नागरिक उडड्यन प्राधिकरणमा समेत परिसकेको छ । घिमिरेले ओडीको लिखित पत्र पाएपनि अहिलेसम्म कार्यालयमा हांजिर भने भएका छैनन् । तर, उनले मातहतका कर्मचारीहरुलाई हप्कीदप्की भने सुरु गरिसकेको स्रोत बताउंछ ।





प्रतिक्रिया