काठमाण्डु- नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले चीनबाट भित्र्याएका ६ जहाज यतिबेला प्रयोगविहीन अवस्थामा छन् । निगमले ४ वटा विमान झण्डै साढे ४ अर्ब रुपैयाँमा खरिद गरेको थियो । २ वटा विमान अनुदानमा उपलब्ध भएका थिए ।
खरिद गरेको केही समय उडान भरेका विमान त्यसयता प्रयोगविहीन अवस्थामा छन् । नेपालको भौगोलिक बनावट अनुकूल नभएको र मर्मत सम्भारमा झन्झट भएको भन्दै चिनियाँ विमान ‘ग्राउन्डेड’ गरिएका छन् ।
हरेक ठाउँमा चिनियाँ प्राविधिकको आवश्यकता पर्ने हुँदा विमान उडानदेखि मर्मतसम्भारसम्म जटिलता भएकाले २ वर्षदेखि ६ वटै विमान सञ्चालनमा आउन सकेका छैनन् । अहिले आएर निगमले ती विमान बिक्री गर्ने प्रक्रिया अगाडि बढाउँदैछ ।
पर्याप्त अध्ययन र सुझबुझ विना नै हचुवाको भरमा खरिद गरिएका विमानले निगमलाई नाफाभन्दा घाटा गरेको छ । अनेक सेटिङ र कमिसनको लोभमा हतारहतारमा खरिद गर्ने तर पछि पछुताउने प्रवृत्ति निगममा देखिएको छ ।
वाइडबडी खरिद प्रक्रिया चर्चित बन्यो । निगमका लागि खरिद गरिएका २ वटा वाइडबडी र २ वटा न्यारोबडी जहाज खरिद प्रक्रिया नै विवादित रह्यो । चारै विमानले भारतका दिल्ली, बैंगलुरु र मुम्बई तथा हङकङ, क्वालालम्पुर, बैंकक, दुबई, दोहा, रियाद र टोकियोमा उडान गर्दै आएका छन् । तर आकर्षक योजना र विश्वसनीयता नहुँदा पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् । अन्तर्राष्ट्रिय गन्तव्यतर्फ अकुपेन्सी ७५–८० प्रतिशतसम्म रहेको निगमले जनाएको छ ।
विमान खरिद गर्दा परेको ऋणको किस्ता नियमित रूपमा तिर्ने व्यावसायिक योजना निगम नेतृत्वसँग छैन । ऋणको किस्ता तिर्न निगमले सरकारलाई गुहार्नुपर्ने अवस्था छ । भएका साधनलाई निगमले पूर्ण क्षमतामा सञ्चालन गरेर आम्दानी बढाउन सकेको छैन । विमान खरिद गरेर नाफाभन्दा घाटा बढी भइरहेको छ । सरकारी सहयोग हुँदाहुँदै पनि निगम घाटामा गइरहेका बेला निजी क्षेत्रका हवाइ कम्पनी भने नाफा कमाउँदै फस्टाइरहेका छन् ।
भएकै स्रोतसाधनलाई सदुपयोग गर्न नसकिरहेको बेला निगमको नयाँ नेतृत्वले थप ५ जहाज खरिद गरेर ऋणको भार बढाउने प्रक्रिया अगाडि बढाएको छ । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको नेतृत्वमा २०७९ माघ २६ गते बसेको सञ्चालक समितिको बैठकले ५ जहाज खरिद गर्ने निर्णय गरेको हो । तर निगमको निर्णयमाथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले व्यावसायिक योजना माग गरेको छ । आन्तरिक उडानका लागि भन्दै निगमले विमान खरिदको योजना अगाडि बढाएको छ ।
निगमले आन्तरिक उडानका लागि ३ ट्विनटर र २ एटीआर विमान खरिद गरेपछि अन्तर्राष्ट्रिय उडानका लागि न्यारोबडी जहाज खरिद गर्ने योजना बनाएको छ । कार्यकारी अध्यक्ष अधिकारीले विमान खरिदको योजना पर्यटनमन्त्री सुदन किराँतीलाई सुनाइसकेका छन् ।
समयमा उडान नहुने, उडान रद्द हुने, यात्रुले सम्मानजनक व्यवहार नपाउने गरेका कारण निगमले विश्वसनीयता गुमाउँदै गएको छ, जसले गर्दा निगमका विमान पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् र निगमप्रति यात्रुको आकर्षण छैन । निगमको बजार प्रबद्र्धन गर्न, यात्रुको आकर्षण बढाउन र सेवालाई जनमैत्री बनाउन छाडेर निगमको वर्तमान नेतृत्व पनि विमान खरिद गरेर ऋण बढाउने पुरानै प्रवृत्तिको पुनरावृत्तिमा लागेको छ । विमान खरिद गर्दा प्राप्त हुने ‘कमिसन’लाई ध्यानमा राखेर निगमले नेतृत्वले विमान खरिदमै जोड दिने गरेको बताइन्छ ।
नयाँ विमान खरिदका लागि निगमसँग पैसा पनि छैन । यसअघिका विमान खरिद गर्दा पनि सरकार जमानत बसेर विभिन्न कोषबाट ऋण लिइएको थियो । विमान खरिदपछि निगमले नियमित किस्ता रकम पनि तिर्न सकेको छैन । किस्ता तिर्न पनि सरकारकै भर पर्नुपर्छ । यस्तो भद्रगोल अवस्थामा निगमको नेतृत्व फेरि विमान खरिदमै जोड दिइरहेको छ ।
निगमले विमान खरिद योजनामा आफूसँग पैसा नभएको र मन्त्रालयले सरकारसँग समन्वय गरिदिनुपर्ने प्रस्ताव समेत गरेको छ । नवनियुक्त मन्त्री किराँतीले पनि विमान खरिदको प्रस्तावमा सकारात्मक संकेत गरेका छन् । तर ऋणमा डुबेको निगमलाई पुनः ऋणमा डुबाउन सरकारले ऋणको भार थप्ला कि नथप्ला ? हेर्न बाँकी छ ।




प्रतिक्रिया