नेपाल वायुसेवा निगमको लापरवाही : जहाजको इन्जिन स्टार्ट हुंदैन, एयर स्टार्ट युनिट पनि बिग्रियो


काठमाण्डु – नेपाल वायुसेवा निगमको लापरवाहीले १५२ जना यात्रु अलपत्र परेका छन् । आइतबार भारतको मुम्बई उड्न लागेको निगमको जहाजमा प्राविधिक समस्या देखिएपछि यात्रु २ घण्टा भन्दा बढी विमानस्थलमा अलपत्र परेका हुन ।

निगमको काठमाण्डु मुम्बईका लागि नियमित उडान आइतबार बिहान ११ :३० बजे तय भएको थियो । त्यहीअनुसार यात्रुलाई जहाजमा चढाइएको थियो । तर, जहाजको इन्जिन स्टार्ट हुन नसकेपछि समस्या आएको हो । नेपाल एयरलाइन्सको न्यारोबडी जहाज ए ३२० मा गत साता नै इन्जिन स्टार्ट गर्न आवश्यक पर्ने एक्जिलरी पावर युनिट( एपीयू) बिग्रेको निगम स्रोतले बतायो ।

जहाजमा प्राविधिक समस्या हुंदा हुंदै पनि निगमको ग्राउण्ड हेण्डलिंग विभागले एयर स्टार्ट युनिट (एएसयू) उपकरणको माध्यमबाट जहाज स्टार्ट गर्दै आएको थियो । निगमसंग अहिले दुई वटा युनिट (एएसयू) रहेको छ । तर, उक्त उपकरण पनि बिग्रिएपछि समस्या भएको निगमका एक अधिकारीले बताए ।

‘व्यवस्थापनको यो हदसम्मको लापरवाही छ । जहाजमा एपीयुको बिल्ड प्रेसरसम्बन्धी समस्या पनि समाधान गरिएको छैन । दुई वटा एयर स्टार्ट युनिटमा एउटा बिग्रेको छ । अर्को पनि आज बिग्रियो । यसले एयरलाइन्सको विश्वसनियतामाथि नै प्रश्न चिन्ह खडा हुन्छ ।’ निगमका एक अधिकारीले काठमाण्डुपाटीसंग भने ।

निगम व्यवस्थापनले एयर स्टार्ट युनिट समेत व्यवस्थापन गर्न नसकेको भन्दै आलोचना भइरहेको छ । नेपाल वायु सेवा निगमको व्यवस्थापनमा भद्रगोल भएदेखि नै विभिन्न समस्या आइरहेको छ । आइतबार मुम्बई उडान ढिलो भएपछि यात्रुहरु आक्रोसित बनेका थिए । उनिहरुले यसले राष्ट्रिय ध्वजाबाहकको बेइज्जत भएको भन्दै सामाजिक संजालमा आक्रोस समेत पोखेका छन् ।

नेपाल एयरलाइन्सको जहाजमा समस्या भएपछि दिल्लीबाट फर्किएको अर्को न्यारोबडी जहाजमार्फत यात्रुहरुलाई मुम्बई पठाइएको थियो । निगममा अहिले युवराज अधिकारी कार्यकारी भुमिकामा छन् । तर, उनको ध्यान व्यवस्थापनलाई चुस्त बनाउने र सुधार गर्नेभन्दा पनि मातहतका कर्मचारीहरुलाई प्रतिसोध सांध्ने र कुर्सी टिकाउनेमा बढी केन्द्रीत भएको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement