काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल एयरलाइन्सको सफल सञ्चालनका लागि सरकारले जुनसुकै हस्तक्षेप गर्ने बताएका छन् ।
नेपाल एयरलाइन्सको ६१औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै ओलीले उडाउनुपर्ने गन्तव्य छोडेर गलत ठाउँमा उडान खोजिएको भन्दै एयरलाइन्सको सफल सञ्चालनका लागि सरकारले जुनसुकै हस्तक्षेप गर्ने बताए ।
उनले अहिलेकै अवस्थामा व्यवस्थापन सुधार नभएसम्म नेपाल एयरलाइन्सलाई सरकारले ऋण वा लगानी स्वरूप एक रुपैयाँ पनि दिन नसकिने स्पष्ट पारे ।
पछिल्लो समय वाइड बडी जहाज किन्न लिएको ऋणको किस्ता तिर्न नसकेको एयरलाइन्सले सरकारसँग बजेट माग्दै आएको छ । पर्यटन मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका ओलीले संस्थाले सधैं सरकारको मुख ताकेर नहुने बताए ।
‘६१ वर्षको अवधिमा उन्नति प्रगति कति भयो ? ३९ अर्ब ऋण छ । यो दान पून्यको मात्र क्षेत्र होइन । नाम सेवा निगम भए पनि व्यापार हो । निस्शुल्क स्वास्थ्य शिविर राखेजस्तो होइन’, उनले भने,‘आफैंले आम्दानी गर्नुपर्छ ।
६ जहाज किन्छौं चलाउने मान्छे छैन । वाइड बडी किन्यौं गन्तव्य छैन । नेपाल वायुसेवा निगममात्र घाटामा छ । काम गर्ने, चढ्ने, चलाउने सबै नाफामा वायुसेवा निगममात्र किन घाटामा ?’ उनले सचेत गराएका छन् ।
सरकारले भिजिट नेपाल २०२० मनाउन लागेको अवस्थामा एयरलाइन्सले पूर्ण क्षमतामा जहाज उडाउनुपर्ने उनको भनाइ छ ।




प्रतिक्रिया