काठमाण्डु – नेपालमा आगामी फागुनमा हुन लागेको आमनिर्वाचनको तयारी चलिरहँदा मुख्य ३ शक्ति राष्ट्रका राजदूतहरू स्वदेश फिर्ता भएका छन् ।
नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव कार्यकाल सकिनै लाग्दा स्वदेश फर्किएर उपचारमा लागेका छन् ।
राजदूत श्रीवास्तव परिवारसहित केही दिनअघि स्वदेश फर्केका हुन् । उनी पत्नी पूर्णसाहिला तथा छोरीहरू भाव्या र सुरम्यासहित स्वदेश फर्केको भारतीय दूतावास स्रोतले जनाएको छ ।
श्रीवास्तव करीब साढे ३ वर्षअघि नेपालका लागि राजदूतका रूपमा नियुक्त भएका थिए ।
मंसिर २७ गते काठमाण्डुको दक्षिणकाली नगरपालिका–९ स्थित भस्मेसुर डाँडाको जंगलमा हाइकिङका क्रममा अचानक लडेर बेहोस भएपछि श्रीवास्तवलाई सेनाको सहयोगमा हेलिकप्टरमार्फत उद्धार गरिएको थियो । उनको ग्राण्डी अस्पतालमा भर्ना गरी मुटुको शल्यक्रिया गरिएको थियो ।
स्वास्थ्य उपचारपछि पुस ४ गते अस्पतालबाट डिस्चार्ज भएका श्रीवास्तव लैनचौरस्थित भारतीय दूतावासमा आराम गरिरहेका थिए । स्वास्थ्यमा सुधार आएपछि उनी थप उपचार र आरामका लागि स्वदेश फर्किएका छन् ।
श्रीवास्तवले सन् २०२२ मा मञ्जीवसिंह पुरीलाई प्रतिस्थापन गर्दै नेपालका लागि भारतको राजदूतको जिम्मेवारी सम्हालेका थिए । उनको कार्यकालमा ऊर्जा सहकार्य, सीमा व्यवस्थापन, पूर्वाधार विकास, सांस्कृतिक आदान–प्रदान तथा उच्चस्तरीय राजनीतिक संवादहरूमा सक्रियता देखिएको थियो ।
यस्तै अमेरिका र चीनका राजदूतहरू पनि आ–आफ्नो स्वदेश फर्केका छन् । नेपालका लागि चिनियाँ राजदूत चेन सोङ र अमेरिकी राजदूत डिआर थम्पसन पनि स्वदेश फर्केका छन् ।
चिनियाँ राजदूत सोङ आफ्नो कार्यकाल पूरा गरेर फर्केका हुन् भने अमेरिकी राजदूत थम्पसनलाई ट्रम्प प्रशासनले फिर्ता बोलाएको छ ।
चिनियाँ राजदूत सोङ जनवरी २०२३ मा नेपाल आएका थिए । थम्पसनलाई तत्कालीन जो बाइडेनको सरकारले मार्च २०२२ मा नेपालका लागि राजदूत नियुक्त गरेको थियो ।
नेपालमा आन्तरिक राजनीतिक उतारचढावबीच शक्ति राष्ट्रका प्रतिनिधिहरूको प्रस्थानलाई अर्थपूर्ण रूपमा हेरिन थालेको छ ।
एकै समयमा भारत, अमेरिका र चीनका राजदूत नेपालबाट बिदा हुनु सामान्य संयोग मात्रै हो वा बदलिँदो भूराजनीतिक सन्दर्भसँग जोडिएको विषय हो भन्ने कूटनीतिक वृत्तमा चर्चा पाएको छ । नेपालमा आगामी दिनमा हुने कूटनीतिक गतिविधि र नयाँ राजदूतहरूको नियुक्तिलाई चासोका साथ हेरिने संकेत देखिएको छ ।




प्रतिक्रिया