काठमाडौं— नेपाल र भियतनामबीच लगानी तथा व्यापार प्रवर्द्धनमा समझदारी भएको छ।
भियतनाम भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार आफ्ना समकक्षीसँग न्युग्यन सुआन फुकसँग भेटवार्ता गरे पश्चात उनीहरुको उपस्थितिमा समझदारी भएको हो।
भियतनामको हनोइमा शनिबार उद्योग, वाणिज्य तथा आपूर्ति सचिव केदारबहादुर अधिकारी र भियतनामको उद्योग मन्त्रालयका उपमन्त्री डाङ आओङ् आन व्यापार तथा लगानीसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भयाे। दुई देशका कूटनीतिज्ञका लागि आवतजावतमा भिसाको उन्मुक्ति र परराष्ट्र मन्त्रालयबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना गर्ने सहमतिसमेत भएको छ ।
सो अवसरमा आपसी सम्बन्ध निर्माणका लागि दुवै देशका राजनीतिक दल, सरकार, संसदीय संस्था, तथा नागरिकको मैत्रीपूर्ण भ्रमण गराउने विषयमा समेत सहमति भएको छ।
बौद्ध धर्मावलम्बीहरूको देश भएको र सांस्कृतिक रूपले एकअर्कासँग जोडिएकाले सम्बन्ध अझै प्रगाढ बनाउनुपर्ने निष्कर्षमा दुवै देश पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भेटमा प्रधानमन्त्री ओलीले आफूलाई भ्रमणका लागि बोलाएकोमा धन्यवाद दिनुका साथै निकट भविष्यमै नेपाल भ्रमणका लागि समकक्षी न्युगेनलाई निम्तो समेत दिएका छन्।




प्रतिक्रिया