मानवीय संवेदना र सँस्कारको सम्मानसहित सक्रिय सेना

मानवीय संवेदना र सँस्कारको सम्मानसहित सक्रिय सेना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन – आफन्त गुमाउँदाको पीडा शवलाई अङ्कमाल गरेर मन हलुङ्गो हुने गरी रोएपछि धेरैलाई सान्त्वना मिल्ने गर्छ । त्यसपछिको आफ्नो धार्मिक परम्परा र सँस्कार अनुसारको अन्त्येष्टि कर्म पूरा गर्दा मृतात्माले शान्ति पाउने र परिवारमा पनि पीडा कम हुँदै जाने गर्दछ । कोरोना महामारीले परम्परा र संस्कारलाई नियमित गर्न नदिए पनि नेपाली सेनाले भने सम्भव हुने जति परम्परा र संस्कार अनुसार अन्त्येष्टि गरेर सहानुभूति लिने र समवेदना दिने गरेको छ ।

कोरोना सङ्क्रमणपछि मृत्यु हुनेहरुको दाहसंस्कारको जिम्मा पाएको नेपाली सेनाले परिवारको अनुरोध अनुसार शवलाई व्यवस्थापन गर्दै आएको छ । सेनाले परिवारले जसरी शवको व्यवस्थापन गर्न भन्छ सोही अनुसार गर्दै आएको छ । यहाँको कालीबहादुर गणले हालसम्म १७ वटा शवको व्यवस्थापन गरिसकेको छ । ती मध्ये १० पुरुष र सात महिला रहेका छन् । १८ वर्षिया युवतीदेखि १०८ वर्षिया बृद्धासम्मको परम्परा अनुसार संस्कार गरिएको छ ।

सेनाले गएको असार १३ गते कैलालीका एक पुरुषको शव व्यवस्थापन गरी यस कामको शुरुवात गरेको हो । गणका गणपति विज्ञान खनालका अनुसार गणमा तालिम प्राप्त टोली नै रहेको छ भने १५ जनाको टोलीले छुट्टै आईसोलेसनमा बस्ने गरेको छ । खनालले भने, ‘खबर आएपछि तत्काल व्यवस्थापन गरेर हाम्रो टोली शव रहेको ठाउँमा पुग्छ ।’

उनका अनुसार शुरुमा शवलाई निर्मलीकरण गरेर शव बहानमा राखिन्छ । शव बहानसँगसँगै सेनाको टोली अन्त्येष्टि स्थलमा पुग्ने गर्दछ ।

भरतपुर महानगरपालिका वडा नं. १ स्थित बागेश्वरी जंगलमा शव व्यवस्थापन गरिंदै आएको छ । खनालले भने, ‘परिवारको ईच्छा अनुसार शवको अन्त्येष्टि गर्छौ, हालसम्म परिवारको अनुरोधमा एउटा शव जलाईएको छ भने अन्यलाई खाल्टोमा व्यवस्थापन गरिएको छ ।’

शव व्यवस्थापन स्थल नजिकै भौतिक दूरी कायम गरेर परिवारले आफ्नो संस्कार र परम्परा अनुसारको धार्मिक विधि पूरा गरिसकेपछि मात्रै शवको व्यवस्थापन हुने गरेको छ । खनालले भने, ‘जुन धर्म र संस्कारको शव छ सोही परम्परा अनुसारको विधि पूरा गरेपछि मात्रै हामीले अन्त्येष्टि गर्दछौं ।’

महामारीबीच पनि आफ्नो परम्परा पूरा गर्न पाउँदा परिवारमा सान्त्वना मिल्ने गरेको छ । डोजरले ७ देखि १० फिट गहिरो खाल्टो खनेर शव व्यवस्थापन गरिंदै आएको छ । एउटा शव व्यवस्थापनका लागि पाँच जनाको समूह परिचालन गर्ने गरिएको छ । अधिकृत वा पदिकले त्यसको नेतृत्व गर्ने गर्दछन् । शव व्यवस्थापनपछि फर्किएको टोली गणको गेटैमा सेनिटराईज गरेर भित्र प्रवेश गराईन्छ ।

गेटको आडैमा रहेको स्नान कक्षमा स्नान गरेर उनीहरु आईसोलेसन कक्षमा पुग्ने गर्दछन् । खनालले भने, ‘१५ दिनसम्म एउटै समूहले काम गर्दछ । त्यसपछि पिसिआर नेगेटिभ आएमा अर्को समूहलाई परिचालन गरिन्छ ।’

व्यक्तिगत सुरक्षाको पोशाक प्रयोग गरी शव व्यवस्थापनमा टोली पठाउने गरिएको छ । उनीहरुले मास्क, पन्जा, पिपिई लगायतका सम्पूर्ण सुरक्षा पोशाक लगाउने गरेका छन् ।

खनालका अनुसार हालसम्म शव व्यवस्थापनमा खटिएका कुनै पनि सैनिकलाई कोरोना पोजेटिभ देखिंएको छैन । नेपाली सेनाले पाएको यो महत्वपूर्ण जिम्मेवारी उच्च मनोबलका साथ पूरा गरिएको खनालले बताए ।