पोखरा – तारा एयरको विमान दुर्घटनामा मृत्यु भएका २२ मध्ये २१ शव फेला परेको छ । अझै एउटा शव फेला पर्न नसकेको उद्धार टोलीले जनाएको छ ।
नेपाली सेनाको हेलिकोप्टरले १० वटा शव काठमाडौं लगिसकेको छ । ११ शव अझै पनि घटनास्थलमा रहेको छ । खराब मौसमका कारण हेलिकोप्टर झर्न नसकेकाले संकलन गरिएका शव काठमाडौं लान नसकेको नेपाली सेनाले जनाएको छ ।
तारा एयर मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित सानुसरे भन्ने भिरमा ठोक्किएर दुर्घटना भएको अवस्थामा आज बिहान भेटिएको थियो । विमानमा सवार १९ यात्रु र तीन चालक दलका सदस्यसहित २२ जनाको दुःखद् निधन भएको छ ।
पोखराबाट आइतबार बिहान ९ः ५५ बजे जोमसोमका लागि उडेको उक्त विमान उडेको १०ः ७ बजेपछि सम्पर्कविहीन भएको थियो । पाँच वटा हेलिकोप्टरले आइतबार दिनभर खोजी गर्दा पनि फेला नपरेपछि आज बिहानै परिचालन भएको संयन्त्रबाट दुर्घटनाग्रस्त जहाज भेटिएको थियो ।




प्रतिक्रिया