काठमाडौं – भूतपूर्व सैनिक तथा निवृत्तभरणमा रहेका परिवारजनहरुको सहभागितामा सुर्खेत जिल्लामा सञ्चालन गरिएको नेपाली सेना भूतपूर्व सैनिक सम्मेलन–२०७६ को समापन गरिएको छ ।
सोमबार एक विशेष समारोहबीच प्रधानसेनापति पूर्णचन्द्र थापाले सम्मेलनको समापन गर्दै नेपालको संविधानले सुम्पिएका विशिष्ट जिम्मेवारीहरु अडिग र अविचलित रहँदै पुर्खाहरुको रगत, पसिना र बलिदानद्वारा रचित नेपाली सेनाको गौरवमय इतिहासलाई जिवन्त राख्न सेवारत र सेवानिवृत्त सैनिक व्यक्तिहरु सदैव समर्पित रहेको र रहनु पर्ने बताए ।
उनले अवकास प्राप्त सैनिक व्यक्तिहरुले विगतमा पुर्याएको सेवा र समर्पणको यथोचित सम्मान गर्दै सामाजिक आर्थिक स्तर उकास्दै लैजानेतर्फ नेपाली सेनाले ध्यान केन्द्रित गरेको बताए ।
उनले नेपाली सेनाको संस्थागत मूल्य मान्यताहरुलाई जीवन्त राख्न अग्रज अवकाश प्राप्त सैनिकहरुले पुर्याएको महत्त्वपूर्ण योगदानको प्रशंसा गर्दै अवकाश प्राप्त सैनिकहरुको आर्थिक समुन्नति, प्रगति र सुखमय जीवनको व्यवस्थापन हुनु भनेकै नेपाली सेनाको आधार स्तम्भ बलियो हुने विश्वास व्यक्त गरेका थिए । साथै नेपाली सेनामा आफ्ना सन्ततीहरुलाई प्रवेश गराउन अभिप्रेरित गर्न आग्रह गर्दै सबैलाई चट्टान झैं दृढ, माहुरी झैं गोलबद्ध र एकिकृत रहन प्रेरणा मिलोस् भन्ने सदिक्षा व्यक्त समेत गरेका थिए ।
‘शिक्षा, स्वास्थ्य, सुविधा र स्वरोजगार–आत्म सम्मान तथा समृद्धिको आधार’ भन्ने मूल नाराका साथ शुरु भएको उक्त सम्मेलनमा हुम्ला, जुम्ला, डोल्पा, मुगु, दैलेख, सुर्खेत र जाजरकोट जिल्लामा बसोबास गर्ने नेपाली सेनाका एक हजार चार सय ५०जना भूतपूर्व सैनिक तथा परिवारजनहरुको सहभागीता रहेको थियो । सम्मेलनकै क्रममा विभिन्न युनिटहरुले स्थान विशेषको झाँकी, खुकुरी नृत्य, तेक्वान्दो तथा मास पीटी प्रदर्शन गरेका थिए भने भूतपूर्व सैनिकहरु तथा महिलाहरुले प्ले कार्डसहित मार्चपास प्रदर्शन गरेका थिए ।
सम्मेलनको दौरान नेपाली सेना कल्याणकारी बोर्ड र नेपाल ईन्भेष्टमेण्ट बैंकको सहकार्यमा सञ्चालित लघुवित्त कार्यक्रमका ऋणीहरुलाई चेक हस्तान्तरण तथा सर्वोत्कृष्ट व्यवसायीहरुलाई प्रशंसापत्र एवम् पुरस्कार वितरण भएको थियो । यस्तै, फरक क्षमता भएका भूतपूर्व सैनिक तथा परिवारहरुलाई व्हिल चियर वितरण तथा उल्लेखित ७ जिल्ला भित्रका ज्येष्ठ भूतपूर्व सैनिक र निवृत्तभरणमा रहेका भूतपूर्व सैनिकको परिवार मध्येको ज्येष्ठ महिलालाई अभिनन्दन समेत गरिएको थियो ।





प्रतिक्रिया