अवकाश प्राप्त सैनिक समाजमा थप अनुशासित भएको देख्‍न चाहेको छुः प्रधानसेनापति थापा

अवकाश प्राप्त सैनिक समाजमा थप अनुशासित भएको देख्‍न चाहेको छुः प्रधानसेनापति थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानसेनापति पूर्णचन्द्र थापाले नयाँ चिन्तनसहित विविध कल्याणकारी कार्यक्रमहरूको लागि नेपाल सरकारसंग समन्वय र स्वीकृती लिएर अगाडि बढ्ने नीति अवलम्बन गरिएको बताएका छन् । उनले अवकाश प्राप्त सैनिक समाजमा थप अनुशासित भएर सकारात्मक कार्य गरेको हेर्न चाहने बताए ।

‘सुदूर पश्चिम प्रदेश भूतपूर्व सैनिक सम्मेलन–२०७६’ को समापनमा बोल्दै प्रधानसेनापति थापाले कल्याणकारी कोषको दीगोपन, मितव्ययी र पारदर्शी प्रयोग, हिताधिकारीहरुको असीमित चाहना र आकांक्षाहरुको दीर्घकालीन सोच सहित समुचित व्यवस्थापन गर्नको लागि कल्याणकारी सोच २०३० तयार गरी चार ‘स’ स्वास्थ्य, शिक्षा, सीप र स्वःरोजगार तथा सुविधा र सहुलियतको अवधारणा अनुरुप कल्याणकारी कार्यक्रमहरु कार्यान्वयन गर्नेतर्फ नेपाली सेनाको ध्यान केन्द्रीत रहेको बताए ।

सम्बोधनकै क्रममा उनले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएर रहेका नेपाली सेनाका अवकाश प्राप्त सैनिक तथा परिवारजनहरू सफल र समृद्ध बनेर समाजमा थप अनुशासित, असल र अगुवा भएर सम्मानित नागरिकको रुपमा स्थापित भएको देख्‍न चाहेको बताएका थिए । उनले सुदूर पश्चिम प्रदेशको आवश्यकता बमोजिम यसै वर्ष बझाङ्ग जिल्लामा सैनिक श्रीमती संघको पहलमा प्रसुती गृह स्थापनाको लागि पहल शुरु गरिएको जानकारी समेत गराए ।

यसैगरी नेपाली सेनाको कल्याणकारी कार्यमा थप टेवा पुर्‍याउन मार्गदर्शन गर्दै नीतिगत व्यवस्था मिलाउन सहयोग पुर्‍याउने उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्‍वर पोखरेल लगायत रक्षा मन्त्रालयलाई धन्यवाद व्यक्त गरेका थिए ।

भूतपूर्व सैनिक तथा निवृत्तभरणमा रहेका परिवारजनहरुको सहभागितामा तेघरी व्यारेक, कैलाली जिल्लामा सञ्चालन गरिएको नेपाली सेना ‘सुदूर पश्‍चिम प्रदेश भूतपूर्व सैनिक सम्मेलन–२०७६’को प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।

‘शिक्षा, स्वास्थ्य, सुविधा र स्वरोजगार–आत्म सम्मान तथा समृद्धिको आधार’ भन्‍ने मूल नाराका साथ शुरु भएको उक्त सम्मेलनमा सुदूरपश्‍चिमका कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी, अछाम, बाजुरा, बझाङ्ग, बैतडी र दार्चुला जिल्लामा बसोबास गर्ने नेपाली सेनाका २३२९ जना भूतपूर्व सैनिक तथा परिवारजनहरुको सहभागीता रहेको थियो ।

सम्मेलनकै क्रममा सुदूर पश्‍चिम प्रदेशका सबै जिल्लाको संस्कृति झल्कने कलात्मक झाँकी, खुकुरी नृत्य, तेक्वान्दो तथा मास पि.टी. प्रदर्शन गरेका थिए भने भूतपूर्व सैनिकहरु तथा महिलाहरुले प्ले कार्डसहित मार्चपास प्रदर्शन गरेका थिए ।

कार्यक्रम पश्चात प्रधानसेनापति थापाले सम्मेलनमा सहभागीहरुसँग भेटघाट तथा अन्तरक्रिया समेत गरेका थिए । यसैगरी सम्मेलन पश्‍चात सुदूर पश्‍चिमका अवकाश प्राप्त सैनिक तथा परिवारहरुलाई लक्षित गरि नेपाली सेनाद्वारा मिति २०७६ माघ २४, २५ र २६ गते तेघरी व्यारेक, कैलालीमा स्वास्थ्य शिविर सञ्‍चालन गर्ने कार्यक्रम समेत रहेको छ ।

सम्मेलनको दौरान नेपाली सेना कल्याणकारी बोर्ड र नेपाल ईन्भेष्टमेण्ट बैंकको सहकार्यमा सञ्चालित लघुवित्त कार्यक्रमका ऋणीहरुलाई चेक हस्तान्तरण तथा सुदूर पश्‍चिम प्रदेशका ज्येष्ठ भूतपूर्व सैनिक ९२ वर्षिय प्युठ कृष्ण बहादुर खत्री (अ.प्रा.) र जेष्ठ एकल महिला १०४ वर्षिया भद्रकाली कठायतलाई सम्मान गरिएको थियो ।

सम्मेलनकै क्रममा १५ जना फरक क्षमता भएका भू.पू. तथा बहालवाला व्यक्तिहरुलाई व्हिल चियर वितरण, ४ (चार) जना वा सो भन्दा बढि सन्ततीहरुलाई नेपाली सेनामा सेवा गर्न प्रेरित गरे वापत १२ (बाह्र) जना अभिभावकहरुलाई सम्मान, सर्वोकृष्ट व्यवसायीहरुलाई प्रशंसापत्र एवम् पुरस्कार वितरण गरिएको थियो ।

सम्मेलनमा सुदूर पश्‍चिम प्रदेशका प्रमुख सचिव, नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त रथीवृन्दहरु, प्रमुख जिल्ला अधिकारी तथा विभिन्न सुरक्षा निकायका प्रमुखहरु, नेपाल ईन्भेष्टमेण्ट बैंक लिमिटेडका कार्यकारी प्रमुख लगायत बहालवाला एवम् अवकास प्राप्त सैनिक तथा परिवारहरु र पत्रकारको उल्लेख्य उपस्थिति रहेको थियो ।

यस प्रकारका सम्मेलनमार्फत नेपाली सेनाका बहालवाला तथा अवकास सैनिक र परिवारका सदस्यहरु बीच आपसी सद्‍भाव र भाईचारा बढ्ने तथा आगामी दिनहरुमा संचालन हुने कल्याणकारी कार्यक्रमहरूबाट सामाजिक तथा आर्थिक स्तर वृद्धि हुँदै जाने र सम्मेलनबाट प्राप्त महत्वपूर्ण राय–सुझावहरुले आगामी दिनहरुमा संचालन हुने कल्याणकारी कार्यक्रमहरूलाई थप सेवामुखी र सहज बनाउन सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।