काठमाडौं – नोबेल कोरोना भाइरसबाट संक्रमित बनेको चीनको हुवान प्रान्तमा नेपाल वायुसेवा निगमको जहाजसँगै नेपाली सेनाका चार जना स्वास्थ्यकर्मी पनि साँगै जाने भएका छन् ।
विमान चालक दलका सदस्यसहित दुईजना चिकित्सक, एक नर्स र प्यारामेडिकलाई चीन पठाउन लागिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीन जाने चिकित्सक तथा चालक दलका सदस्यहरुलाई मन्त्रालयको व्यवस्थापन महाशाखाका चिकित्सक र प्रहरी अस्पतालका चिकित्सकले तालिम दिइरहेको जनाएको छ ।
शनिबार नेपाल वायुसेवा निगमको वाइडबडी ए–३३० जहाज विद्यार्थी लिन चीन जाँदैछ । वुहान जाने टोलीमा तीनजना विमान चालक, ६ जना क्याबिन क्रू, दुईजना इन्जिनियर, १–१ जना फ्लाइट डिस्प्याचर र लोड मास्टरसहित नेपाली सेनाका चारजना चिकित्सक रहने छन् ।
वुहानबाट ल्याइएका विद्यार्थीलाई भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिनेछ । चीनबाट आउनेलाई राख्न खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणका दुई भवन तयारी अवस्थामा राखिएको छ ।
हुवेइ प्रान्तको वुहानलगायत शहरबाट १८५ नेपालीले स्वदेश फर्कन त्यहाँस्थित नेपाली दूतावासमा निवेदन दिएका छन् ।
क्वारेन्टाइनमा राखिएको १४ दिनमा फेरि अर्को पटक कोरोना परीक्षण गरिने छ । परीक्षण नेगेटिभ आए मात्रै घर पठाइने तयारी सरकारको छ ।




प्रतिक्रिया