सेनालाई स्वास्थ्य सामाग्री किन्ने जिम्माः सरकार असक्षम भएको प्रमाणित !


काठमाडौं – सरकारले नेपाली सेनालाई चीनबाट स्वास्थ्य सामाग्री ल्याउने जिम्मा दि ने निर्णयको चौतर्फी विरोध भएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता नै उक्त निर्णयको विरोधमा उत्रिएका हुन् ।

नेकपाका नेता विष्णु रिजालले मेडिकल सामग्री खरिद गर्ने जिम्मा सेनालाई दिने सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका हुन् ।

नेकपाको विदेश विभाग उपप्रमुखसमेत रहेका रिजालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हुरीबतास आयो, घर बनाउने जिम्मा सेनालाई । महामारी आयो, औषधी किन्ने जिम्मा सेनालाई । ठूलो बजेट भयो, बाटो बनाउने जिम्मा सेनालाई । यो सेनाको कामै होइन ।’

रिजाल थप लेख्छन्, ‘सेनामा अख्तियारले हेर्न नपाउने भएकाले लिने–दिने दुवैलाई राम्रै लाग्ला तर हाम्रो प्रणाली कमजोर हुन्छ । दीर्घकालीन रुपमा सोचौँ ।’

त्यस्तै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि सरकारी कदमको आलोचना गरेका छन् । भट्टराईले हतियार र गोलीले भाइरस कोरोना भाइरस नमर्ने बताए ।

उनले भनेका छन्, ‘भाइरस मार्ने बन्दुक र गोलीले हैन होला ! अनि सरकारले किन चीनबाट स्वास्थ्यसामाग्री किन्न सेनालाई अघि सारेको होला ? के वाणिज्य,आपूर्ति लगायतका निजामति निकाय छैनन् ? जी–टू–जी विधिबाट पहिल्यै किन नल्याएको ? के सेना अख्तियारको दायरामा पर्दैन भनेर हो ? चोरको खुट्टा काट् भन्दा किन खुट्टा तानेको ?’

त्यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना भाइरसको संक्रमण रोकथाम तथा उपचारका लागि स्वास्थ्य सामाग्री खरिदमा भएको अनियमितताको छानविनको माग गरेका छन् । नेता पौडेलले शुक्रवार विहान सामाजिक सञ्जाल फेसबुकमार्फत भ्रष्टाचारमा जो सुकै भएपनि तत्काल छानविन गरि कारवाहीको माग गरेका हुनु ।

नेता पौडेलले स्वास्थ्य सामाग्री खरिदमा अहिले पनि सरकार दुविधामा रहेको भन्दै असन्तुष्टि जनाए । उनले स्वास्थ्य सामाग्री खरिदमा सरकारमा रहेका मन्त्रीहरु जीटुजीमार्फत खरिद संभव नहुने बताउने तर मन्त्रिपरिषदले त्यही निर्णय गरेर आम जनतामा दुविधा बनाइदिएको बताए ।

उनले भने, ‘सबै सेनालाई दिनुपर्ने रे । ठेक्का टेन्डर पनि ठेकेदारलाई कति अविश्वास भएको । सेनालाई जिम्मा दिएपछि आफूलाई सुरक्षित ठान्ने ? सेनालाई दिएपछि छानबिन पनि हुदैन अख्तियारले पनि हेर्दैन भन्ने बेइमानीपूर्ण मनोवृत्ति छ । यो विश्वासको संकट पैदा भएको छ ।’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सार्वजनिक खरिद बिक्रीको काममा सेनालाई प्रयोग गर्न नहुने बताएका छन् ।

सरकारले कोरोना भाइरसविरुद्ध लड्न सेनामार्फत अत्यावश्यकीय मेडिकल सामग्री खरिद गर्ने तयारी गरिरहेका बेला थापाले यस्तो कार्यमा सेना प्रयोग गर्न नहुने धारणा राखेका हुन् ।

सेनाको कार्यक्षेत्रबाहिरको काममा सेना स्वयंले पनि रुचि देखाउन नहुने थापाको मत छ ।

‘सार्वजनिक खरिद बिक्रीको काममा समेत सेनालाई प्रयोग गर्नु उपयुक्त हुँदैन । सेनाले पनि त्यस्तो जिम्मा स्वीकार्नु हुँदैन,’ थापाले ट्विटरमा लेखेका छन् ।

खरिदको जिम्मा सेनालाई दिने कार्यले सरकार असक्षम प्रमाणित हुने थापाको तर्क छ । थापाले अगाडि लेखेका छन्, ‘सरकारको नियमित कार्य क्षमतामा ह्रास आएको र असक्षम भएको प्रमाणित गर्दछ । मलाई लाग्दैन हामी त्यो अवस्थामा पुगिसकेका छौं ।’

प्रतिक्रिया दिनुहोस
Advertisement