चीनवाट समयमै स्वास्थ्य सामग्री ल्याउन सक्दैनौंः प्रवक्ता पाण्डे


काठमाडौं – नेपाली सेनाले चीनबाट तोकिएको समयमा स्वास्थ्य सामाग्री ल्याउन नसक्ने भएको छ । चीनमा मे १ देखि ५ तारिकसम्म सरकारी बिदा परेकाले तोकिएको समयमा स्वास्थ्य सामाग्री ल्याउन नसकिने नेपाली सेनाले जनाएको छ ।

सहायकरथी एवं सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले सरकारसँग सम्झौता भएको समयमा नै सामान आईपुग्न नसक्ने जानकारी दिए । उनले सेनाले चीनमा सबै सामाग्री तयारी अवस्थामा राखिसकेको भए पनि त्यहाँको सरकारी बिदाका कारण ढिलो हुने बताए ।

‘हाम्रो प्लान ५ तारिकमा जहाज पठाएर सामाग्री लिएर आउने भन्ने थियो । तर, १ तारिकदेखि ५ तारिकसम्म उहाँहरुको सरकारी बिदा भएको हुनाले अलिकति पछि धकेलियो’, प्रवक्ता पाण्डेले काठमाडौंपाटीसँग कुरा गर्दै भने ।

उनले ग्वाङ्झाओको एयरपोर्ट व्यस्त भएकाले अर्को एयरपोर्ट छनौट गरेको र त्यसलाई रिक्वेस्ट पठाउन बाँकी रहेको जानकारी दिए ।

‘अहिले हामीले ढुवानीकर्ता छनौट गरेर पैसा पनि बुझाइसक्यौं । चीनको टोलीले पनि केही सामान तयारी अवस्थामा राखेको छ । सबै बिदा भएकाले एयरपोर्टमा सामान राखिदिने अवस्था छैन्’ उनले भने, ‘ग्वाङ्झाओको एयरपोर्ट व्यस्त भएकाले ग्वाङ्झाओ नजिकैको अर्को एयरपोर्ट छनौट गरेका छौं । अब अर्को एयरपोर्ट छनौट गर्दा त्यो एयरपोर्टमा रिक्वेस्ट गर्नुपर्छ । ६ तारिकमा त्यो एयरपोर्टसँग रिक्वेस्ट गरेपछि कहिलेसम्म ल्याउन सकिन्छ भनेर बोल्न सकिन्छ ।’

उनले अवाई र स्थल मार्गबाट जम्म ३४२ टन स्वास्थ्य सामाग्री ल्याउने बताए । उनले दुई वटा फ्लाइटबाट ३७ टन स्वास्थ्य सामाग्री ल्याउने बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement