नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबिचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति सिग्देल

नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबिचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति सिग्देल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको सिद्धान्तमा आधारित नेपाल–चीन सम्बन्धको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन्।

चीनको जनमुक्ति सेना (पीएलए) स्थापना भएको ९९औँ वार्षिकोत्सवका अवसरमा काठमाण्डुस्थित चिनियाँ दूतावासले शुक्रबार आयोजना गरेको स्वागत समारोहलाई सम्बोधन गर्दै उनले नेपाली सेना र पीएलएबिचको सम्बन्ध सुदृढ रहेको तथा निरन्तर प्रगाढ बन्दै गएको बताएका हुन्।

प्रधानसेनापति सिग्देलले दुई सेनाबिच हुने नियमित उच्चस्तरीय भ्रमण तथा आदानप्रदानले द्विपक्षीय सैनिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याएको उल्लेख गर्दै संयुक्त सैनिक अभ्यासले आपसी विश्वास, समझदारी र सहकार्यलाई थप गहिरो बनाएको बताए।

उनले आगामी दिनमा पनि नेपाली सेना र पीएलएबिचको सहकार्य अझ विस्तार भई नेपाल–चीनमैत्री सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्।

सो अवसरमा नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले विगत ९९ वर्षमा पीएलएले चीनको राष्ट्रिय स्वतन्त्रता, मुक्ति, सार्वभौमसत्ता, सुरक्षा तथा विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएको बताएका थिए। विज्ञान तथा प्रविधिको तीव्र विकाससँगै पीएलएको आधुनिकीकरण उल्लेखनीय रूपमा अघि बढेको उल्लेख गर्दै उनले त्यसले विश्व शान्तिमा समेत सकारात्मक योगदान पुर्‍याएको बताए।

राजदूत चाङले मानवीय सहायता, विपद् उद्धार तथा संयुक्त राष्ट्र संघीय शान्ति स्थापना अभियानमा चीनले सक्रिय सहभागिता जनाउँदै आएको उल्लेख गरे। संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्का स्थायी सदस्य राष्ट्रहरूमध्ये चीन शान्ति सैनिक योगदान गर्ने सबैभन्दा ठूलो मुलुक रहेको तथा नेपाल विश्वका प्रमुख शान्ति सैनिक योगदानकर्ता मुलुकहरूमध्ये एक रहेको उनले बताएका छन्।

नेपाल र चीनबिचको मैत्री सम्बन्ध दीर्घकालीन, पारस्परिक सम्मान र समानतामा आधारित रहेको उल्लेख गर्दै उनले दुवै देशबिचको व्यावहारिक सहयोग तथा मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गरे।

समारोहमा चिनियाँ जनमुक्ति सेनाका वरिष्ठ कर्णेल चौ जुनले नयाँ युगको आवश्यकताअनुसार पीएलए निरन्तर आधुनिकीकरण हुँदै गएको तथा राष्ट्रिय सार्वभौमसत्ता, सुरक्षा र विकासका हितहरूको संरक्षणमा प्रतिबद्ध रहेको बताएका छन्। उनले चीनले नेपालसँगको सैनिक सम्बन्धलाई उच्च महत्त्व दिएको उल्लेख गर्दै उच्चस्तरीय भ्रमण, संयुक्त अभ्यास तथा अन्य पारस्परिक हितका क्षेत्रमा सहकार्य अझ विस्तार हुने विश्वास व्यक्त गरे।