चार महिनापछि सेनाका प्रधानसेनापति थापा अवकास पाउंदै,प्रभुराम शर्मा नयां सेनापति बन्ने


काठमाण्डु– नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले अवको चार महिनापछि अवकासमा जादैंछन् । प्रधानसेनापति थापाकोे तीन वर्षे प्रधानसेनापतिको नियमित कार्यकाल आगामी भदौ २४ मा सकिदैंछ । थापा ०७५ भदौ २४ मा नेपाली सेनाको प्रधानसेनापतिमा नियुक्त भएका थिए । थापाले अवकास पाएपछि नेपाली सेनामा हालका बलाधिकृतरथी प्रभुराम शर्मा सेनाको प्रधानसेनापति बन्ने लाईनमा छन् । सेनामा दुई जना रथीको दरबन्दी छ ।

सेनाका अर्का रथी ईश्वर हमाल भने हाल फोर्स कमाण्डरका रुपमा मिसनमा कार्यरत छन् । उनी रथीमा बढुवा भएदेखी नै अनडफ मिसेनमा फोर्स कमाण्डरका रुपमा जिम्मेवारी सम्हालिरहेका छन् ।

प्रधानसेनापतिको लाईनमा रहेका शर्मा २० बेसिकका सैनिक अधिकृत हुन । उनले भारतबाट नेशनल डिफेन्स कोर्स (एनडिसी) गरेका छन् । शर्मा २०७७ बैशाख १४ मा रथीमा बढुवा भएका थिए ।

सैनिक ऐनअनुसार प्रधानसेनापति नियुक्तीको लागी सिफारिस प्रधानसेनापति थापाले नै वरिष्ठतम रथीबाट गर्नुपर्नेछ । सैनिक ऐनमा प्रधानसेनापतिको सिफारीसमा सेनाका वरिष्ठतम रथी मध्येबाट एक जनालाई प्रधानसेनापति नियुक्त गर्ने व्यवस्था छ ।

कतिपयले प्रधानसेनापति थापाले नै आफ्नो कार्यकाल एक वर्ष थप्न खोजेको आशंका गरेपनि त्यो सम्भावना भने न्युन रहेको स्रोतको दावी छ । किनभने यसअघि पनि प्रधानसेनापतिहरु कार्याकालको अन्तिममा कार्यकाल थप्न लविङमा लाग्ने गरेपनि कसैको पनि कार्यकाल थप भएको छैन । थापा स्वयंम् पनि आफ्नो कार्यकाल थप्न ईच्छुक नभएको स्रोतको दावी छ ।

उनको कार्याकालमा सेनाभित्र सुधारका कामहरु भएको भनिएपनि पछिल्लो समय भने थापा विवादमा आएका छन् । प्रधानसेनापतिले सेनामा आर्थिक अनुशासन कायम गरेको भन्दै उनको प्रशंसा हुने गरेको थियो । त्यसैगरी उनले शान्ती सेनामा पठाउंदा पारदर्शीता अपनाएको, सेनाको खरिद प्रक्रियामा सुधार गरेको र तल्लो तहका जवानहरुको लागी कल्याणकारी काम गरेको सेनाकै अधिकारीहरु बताउंछन् ।

थापामाथी सेनामा पुर्वाग्रह राखेर धेरै अधिकृतलाई कार्वाही गरेको, निकटका अधिकृतहरुलाई दोहोरो जिम्मेवारी दिएको, बढुवामा अन्याय गरेको र निकटकालाई काखा र अरुलाई पाखा गरेको आरोप छ । उनी रथी हुंदा आफै संयोजक रहेको काठमाण्डु तराई दु्रत मार्गको काम समयमै अघि बढाउन नसकेको र टेण्डरको प्रक्रियामा समेत नियम मिचेर काम गरेको भन्दै उनको आलोचना भइरहेको छ । संसदको लेखा समितिले त्यसमा ठुलो आर्थिक चलखेल भएको भन्दै ठेक्का रद्द गर्न समेत निर्देशन दिइसकेको छ । त्यसमा प्रधानसेनापतिको समेत नाम जोडिएको छ ।

सेनामा प्रधानसेनापतिले एक महिना पहिला विदा लिने परम्पराअनुसार उनी साउन २४ मा विदामा बस्नेछन् । थापाले भदौ २४ मा अवकास पाएसंगै हालका बलाधिकृतरथी शर्मा नेपाली सेनाको प्रधानसेनापति बन्नेछन् । थापाको ठाउंमा वरियताको आधारमा उपरथी बालकृष्ण कार्की रथीमा बढुवा हुनेछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement