सेनामा पृतनाको संरचना खारेज,सेनाले चार वटा कमाण्डको अवधारणा किन अघि बढायो ?


काठमाण्डु– नेपाली सेनाले संगठनलाई कमाण्ड अवधारणामा अघि बढाउने तयारी गरेको छ । सेनामा हाल रहेको ८ वटा पृतनालाई खारेज गरेर कमाण्डको संरचनामा जाने सेनाको तयारीलाई सरकारले पनि साथ दिएको छ । हाल रहेको संरचना प्रशासनिक ढंगको भएको भन्दै सेनाले कमाण्ड अवधारणाले सैनिक आवश्यकतालाई परिपुर्ती गर्ने दावी गरेको छ ।

संघीय संरचनापछि सेनाले पनि आफुलाई त्यसमा ढालेपनि हाल आएर संगठनात्मक पुर्नसंरचना नै गर्ने निर्णयमा सेना पुगेको हो । प्रादेशिक संरचनाअन्र्तगत रहेर काम गर्दा सैन्य संरचनाको अभ्यास समस्याग्रस्त भएपछि सेनाले भौगलिक कमाण्ड संरचना निर्माण गर्ने निर्णयमा पुगेको हो ।

सेनाले पृतनाको संरचनालाई सात वटा प्रदेशसंग मिल्दोजूल्दो हुने गरी सात वटा पृतना र एउटा उपत्यका हेर्ने गरी भ्याली पृतनाको संरचना बनाएको थियो ।तर,सेनामा संघीय संरचनाअनुसार पृतना बनाउंदा सैनिक हिसावले त्यो उपयुक्त नभएको निष्कर्शपछि सेनाले कमाण्डको अवधारणा अघि बढाएको हो ।

सैनिक प्रवक्ता सहायकरथी सँतोषबल्लभ पौडेलले सेना चांडै चार वटा कमाण्डको संरचनामा जाने बताए । उनले त्यसका लागी सरकारले सेनाको प्रस्तावलाई स्विकृति दिइसकेको जानकारी दिए । सेनामा तत्कालिन प्रधानसेनापति धर्मपाल थापाका पालादेखी नै चमु ( कोर) संरचनामा जानुपर्ने बहस हुंदै आएको थियो । सैनिक मुख्यालय तल निर्माण भएका चार वटा कमाण्ड वनेसंगै अव सेनाका सबै संरचना स्रोत साधनले सम्पन्न हुनेछन् । करिव १५ वर्षअघि सेनामा कोर निर्माण गर्नुपर्ने बहसको सुरुवात भएको थियो ।

सेनाले अहिले नदी बेसिनका आधारमा पूर्वी,मध्य,पश्चिम कमाण्ड र उपत्यकासहित चार वटा कमाण्ड संरचना राख्ने तयारी गरेको छ । गणतन्त्र आउनुअघि सेनाको चार वटा पृतना थिए भने पछि अरु चार वटा थप भएका थिए ।

सैनिक प्रवक्ता पौडेलले कमाण्ड अवधारणाबाट राज्यलाई कुनै आर्थिक भार नपर्ने र दरबन्दीको पनि आन्तरिक रुपमा नै समायोजन गरेर अघि बढ्ने तयारी भएको बताए । उनले तीन तारे जर्नेलको दरबन्दी थप गर्न लागिएको हो भन्ने काठमाण्डुपाटीको प्रश्नमा पौडेलले यसबाट धेरै विषयको ओप्पनअप हुने भएपनि तत्काल रथीको दरबन्दी थप नहुने प्रष्ट पारे ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले आफ्नो कार्यकालको सुरुवतादेखी नै तीन जोर एक कमाण्ड संरचनाको अवधारणालाई अघि बढाउन पहल गरेका थिए । जंगी अड्डा भन्दा मुनि चारवटा ‘कम्प्लिट मिलिटरी कमाण्ड’ लाई तीन जोर एक कमाण्डको संरचना भनिएको हो ।

प्रधानसेनापति थापाले ०७५ भदौ २४ गते कमाण्ड ग्रहण पश्चातको पहिलो सम्बोधनमै विकेन्द्रीकरणमार्फत सबै तहका कमाण्डरहरुलाई आ– आफ्ना जिम्मेवारीप्रति उत्तरदायी बनाउन नेपाली सेनामा मिसन कमाण्ड तथा अपरेशनल कमाण्डको अवधारणा लागु गरिने घोषणा गरेका थिए ।

उनको लिखित सम्बोधनको पेज १० मा सांगठनिक र व्यवस्थापन पक्षलाई चुस्त,असरदार र आधुनिकीकरण गर्न डिजिटाइजेसन प्रणालीलाई युनिटस्तरसम्म विस्तार गरिने उल्लेख छ । त्यसैगरी सेवागत विशिष्टतालाई प्रभावकारी बनाई संगठनको क्षमता अभिवृद्धि गर्नका लागी corps of logistics,corps of medical Sevices,corps of signals,corps of compat engineers,corps of construction engineering,corps of intelligence, corps of EME आदिको अवधारणा तयार गरी औचित्य वा आवश्यकताका आधारमा क्रमिक रुपमा कार्यान्वयन गर्दै लगिने उनले आफ्नो सम्बोधनमा बताएका थिए ।

प्रधानसेनापति थापाले ०७७ माघ १ गते सैनिक मुख्यालय भद्रकालीमा हाईयर कमाण्ड तथा म्यानेजमेन्ट तालिमको समापन गर्दै सेनाले अघी सारेको ३+१ अपरेशनल कमाण्ड अवधारणाको आवश्यकता र उपादेयता एवं नेपालको सन्दर्भका यसको महत्वको बारेमा समेत आफ्ना धारणाहरु राखेका थिए । उनले सोही आधारमा संगठनको पूनर्संरचना समेत गरी सफल कार्यान्वयन गर्नुपर्ने आवश्यकतामा जोड दिएका थिए।

उनले आफ्नो कार्यकालको सुरुवादेखी नै सेनाको अपरेशन क्षमता विकासका लागी भूराजनीतिक र रणनीतिक परिवेश सुहाउंदो लडाई लड्ने एकिकृत कमाण्ड र एकिकृत गूप्तचर प्रणालीसहितको कमाण्ड अवधारणाको बारेमा सेनाभित्रै पनि बहस चलाएका थिए । त्यसका लागी उनले विभिन्न समितिहरु बनाएर नै काम अघि बढाएका थिए ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक नेतृत्व सम्हालेको तेस्रो वर्ष प्रवेशका अवसरमा जंगी अड्डामा आयोजित कार्यक्रममा उनले फेरी कमाण्ड संरचना बनाउन लागेको खुलासा गरेका थिए ।

‘कार्यभार सम्हालेकै दिन मैले सेनालाई सबल, सक्षम र सुदृढ संगठनका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रक्रिया, पद्धति र प्रणालीबाट सञ्चालित संगठन बनाउन प्रधानसेनापति कमाण्ड मार्गनिर्देशन २०७५ जारी गरेको थिए । राष्ट्रिय सुरक्षाका सम्बन्धमा राष्ट्रिय सुरक्षा नीति, प्रतिरक्षा नीति, सैनिक रणनीति, सैनिक डक्ट्रिन र नेपाली आर्मी भिजन–२०३० प्रतिपादन गरिएको छ। र, अपरेशन क्षमता विकासका लागि भूराजनीतिक र रणनीतिक परिवेश सुहाउंदो लडाईं लड्ने इन्टिग्रेटेड कमाण्ड, इन्टिग्रेटेड इन्टेलिजेन्स सिस्टम योजना सहितको तीन जोर एक कमाण्ड अवधारणाको विकासका निमित्त सैनिक संगठनभित्र व्यापक छलफल शुरू गरिएको छ।’ उनले कार्यक्रममा भनेका थिए ।

प्रधानसेनापति थापाले भनेको झण्डै ८ महिनापछि उनको प्रस्तावलाई सरकारले पारित गरेको छ । सेनाले सेनाको यो अवधारणा देशको भु वनावट र रणनीतिक दृष्टिले उत्तर दक्षिणमा आधारित कमाण्ड संरचनाअनुसार फौंज राख्नु वैज्ञानिक हुने प्रवक्ता पौडेलले बताए ।

सेनाले कमाण्ड संरचनालाई सहयोग पुग्ने गरी एयरवेश र लजिस्टिक बेस पनि तयार गरिसकेको छ । जसअनुसार काठमाण्डुको गौचरण र सुर्खेतमा एयरवेश निर्माण गरिसकेको छ । काठमाण्डुले उपत्यका र पश्चिमाअंचल र सुर्खेतले कर्णाली र सुदुरपश्चिम प्रदेश हेरिरहेको छ भने र पूर्वी कमाण्डका लागी विराटनगरमा ऐयरवेश बनाउने तयारी छ ।

त्यसैगरी चितवनको शक्तिखोर र बांकेको कोशिलानगरमा लजिस्टिक बेश तयारी भइसकेको छ भने पूर्वमा महोत्तरीको बर्दिवासमा निर्माण गर्ने सेनाको तयारी छ । सेनाले काठमाण्डु बाहेक पोखरा,इटहरी र नेपालगंजमा सैनिक अस्पताल समेत निर्माण गरिकसेको छ ।

कमाण्ड संरचनाले फौजको दू्रत परिचालन,स्रोत सांधनको उचित व्यवस्थापनाका काम पनि छिटो छरितो हुने सेनाले विश्वास लिएको छ । कमाण्ड संरचना बनिसकेपछि सैनिक मुख्यालय भने नितीगत र रणनीतिक काममा लाग्नेछ । अपरेशनलसहित अन्य कामको हकमा निर्णय गर्ने अधिकार भने कमाण्डमा नै रहनेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement