नेपालमा जुन र जुलाईमा कोरोना संक्रमित बढ्ने, साढे ७ हजार सेना परिचालन


काठमाडौं – कोरोना क्राइसिस म्यानेजमेन्ट कमिटी (सिसिएमसी)ले जुन र जुलाईमा कोरोना भाइरसका बिरामी बढ्ने प्रक्षेपण गरेको छ । नेपाली सेनाका विशेषज्ञ चिकित्सक र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका विशेषज्ञहरुले यो दुई महिना अझै कोरोना संक्रमित बढ्ने प्रक्षेपण गरेका हुन् ।

नेपाली सेनाले गरेको पत्रकार सम्मेलनमा सैनिक प्रवक्ता विज्ञानदेब पाण्डेले अन्तराष्ट्रिय ट्रेन्डका आधारमा कोरोना भाइरस अझै फैलिने प्रक्षेपण गरिएको जानकारी दिए ।

‘हामीले भारत र अन्य देशबाट आउने नेपालीहरुलाई कसरी व्यवस्थापन गर्ने भनेर प्रधानमन्त्रीलाई योजना बुझाएका छौँ’ प्रवक्ता पाण्डेले भने, ‘उच्चस्तरीय समन्वय समिति हुँदै मन्त्रिपरिषदमा गएको हामीले सुनेका छौँ । अब यसको अन्तिम कार्ययोजना आउँछ होला ।’

क्वारेन्टाइन वार्ड, आइसोलेसन वार्ड लगायतमा गरी नेपाली सेनाका २ हजार २ सय ९० स्वास्थ्यकर्मी खटिएको प्रवक्ता पाण्डेले बताए ।

प्रवक्ता पाण्डेले कोभिड १९ को नियन्त्रणका लागि राष्ट्रिय ऐक्यबद्धता आवश्यक भएको औँल्याए । उनले कोरोना १९ सँग सम्बन्धित चीनबाट खरिद गरिएको केही स्वास्थ्य सामग्री आइसकेको र बाँकी सामग्री केही दिनभित्र आइपुग्ने उनले जानकारी दिए ।

सैनिक प्रवक्ता पाण्डेका अनुसार अनुगमन तथा सुरक्षा व्यवस्था लगायतमा सिसिएमसीले ८७ हजारको हाराहारीमा सुरक्षा फौज परिचालन गरेको छ । जसमा नेपाली सेना ७ हजार ५ सय, नेपाल प्रहरी ४६ हजार ४ सय, सशस्त्र प्रहरी ३१ हजार र अनुसन्धान विभागबाट २ हजार भन्दा बढी परिचालित छन् ।

त्यस्तै कार्यक्रममा चिकित्सक एवम् सेनानी नविन फुयाँलले गणितीय विश्लेषणका आधारमा जुन र जुलाईमा बिरामी बढ्ने देखाएको जानकारी दिए ।

कोभिड–१९ को सङ्क्रमण अहिलेसम्म काबु बाहिर नरहेको बताउँदै सेनानी फुयालले सम्भावित सङ्क्रमित व्यक्तिको सहि पहिचान र परीक्षण गरिएकाले थोरै परीक्षणबाट पनि धेरै सङ्क्रमित फेला परेको बताए ।

उनले भने, ‘परीक्षणको दायरालाई ठीक ढङ्गबाट अघि बढाइएको छ, अहिलेसम्म सङ्क्रमण काबु बाहिर गएको छैन, आगामी दिनमा बढ्न सक्ने सम्भावित जोखिमलाई दृष्टिगत गरी परीक्षण विस्तार लगायतका तयारी गरिएको छ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement