चीनबाट ६ अर्ब बरावरको हतियार किन्दै सरकार,देउवाका साला र ज्ञानेन्द्र कार्कीका भाईको संलग्नता


काठमाण्डु– नेपाली सेनाले ६ अर्व वरावरको एपिसी र हतियार चीनबाट खरिद गर्ने तयारी गरेको छ । सेनाले तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा चीनबाट २६ एपिसी, ७२ वटा टयाक्टीकल भेइकल र गोली खरिद गर्ने प्रक्रिया अघि बढाएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार बनेपछि यो प्रक्रियालाई दूर्त गतिमा अघि बढाइएको हो । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का अहिले रक्षामन्त्री छन् । रक्षामन्त्री खड्काको समेत यसमा अस्वभाविक चांसो छ । उनकै पहलमा अहिले सेनाले चीनबाट १० हजार थान सीक्यु राइफल खरिद समेत अघि बढाउन खोजेको छ ।

सेनाले कल्याणकारी कोषको पैसाबाट शान्ति सेनालाई आवश्यक पर्ने गाडी र गोली चीनबाट खरिद गर्न लागेको हो । कल्याणकारीको पैसाबाट सेनाले भारतको महेन्द्रा कम्पनीबाट समेत चार वटा एपीसी खरिद गर्दैछ । सेनाले चीन र भारतीय दूतावासमार्फत कोटेशन मागेर सामान खरिद गर्न लागेको हो । महेन्द्राको एउटा एपीसीको मुल्य तीन करोड ९८ लाख छ भने चीनबाट ल्याउन लागेको एपीसीको मुल्य भने सात करोड ७५ लाख रहेको छ ।

सेनाले चीन र भारतबाट एपीसी र हतियार ल्याउने सम्झौंता गत विहिवार नै गरिसकेको छ । अहिले एलसी खोल्ने तयारीमा सेना लागेको सैनिक स्रोत बताउंछ ।

सेनाले यो खरिद प्रकरण जी टु जी भएको दावी गरेको छ । तर, यसको पछाडी सत्तारुढ दलका नेताका नातेदार र व्यापारीको संलग्नता गरेको स्रोतले बतायो । नेपालमा सत्ता परिवर्तनसंगै चिनियां कम्पनी नोरिन्कोले एजेण्ट समेत परिवर्तन गरिसकेको छ ।

नोरिन्कोका एजेण्ट लामो समयदेखि उमेश श्रेष्ठ र रोशन श्रेष्ठ भएपनि पछिल्लो समय सेनाको शान्ति सेना हेर्ने सहायकरथी सन्तोषवल्लभ पौडेल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका साला भुषण राणा, कांग्रेस नेता ज्ञानेन्द्र कार्कीका भाई लोकेन्द्र कार्कीको मिलेमतोमा एजेण्ट परितर्वन गरिएको छ । अहिले कार्कीका स्टाफको नाममा एजेन्सी ल्याइएको छ । राजकुमार नैडु त्यसको एजेण्ट भएको स्रोत बताउंछ ।

‘नैडुको नाम मात्र हो । यसमा कार्की, राणा र पौडेलको सांटगांठ छ । उच्च राजनीतिक नेतृत्वको ग्रिन सिंग्नलपछि चिनियां कम्पनीले पनि हतारमा एजेण्ट परिर्वतन गरेको हो ।उनिहरु तिनै जनाको लविङमा यो प्रक्रिया अघि बढेको हो । ’ स्रोतले काठमाण्डुपाटीसंग भन्यो ।

कांग्रेस सभापति देउवा पत्नी आराजु राणाले समेत चिनियां कम्पनीको एजेण्ट कार्कीलाई दिलाउन भुमिका खेलेको बताइन्छ । नोरिन्कोको प्रतिनिधिमण्डल दुई पटक काठमाडौं आइसकेको छ । उनिहरुसंगको गोप्य बैठकमा राणासहित उनका छोरा जयविर समेत सहभागी रहेको स्रोतले बतायो ।

कार्कीका स्टाफ नोरिन्कोको एजेण्ट भएसंगै चिनियां कम्पनी पोलीले समेत कार्कीलाई एजेण्टबाट हटाएको स्रोत बताउंछ । चीनमा पोली र नोरिन्को दुवै प्रतिस्पर्धी सरकारी कम्पनी हुन् ।कार्की यसअघि सेनाको काठमाण्डु तराई द्रुर्तमार्गको ठेक्कामा समेत संलग्न विवादस्पद व्यापारी हुन् । द्रूर्तमार्गको ठेक्का चिनियां कम्पनी पोलीले नै पाएको थियो । जुन ठेक्का अहिले अलपत्र परेको छ ।

उनले सिंगापुरमा नेपाल सरकारको स्वीकृति विना ग्लोबल होल्डीङ नेटवर्क प्रालि नामको कम्पनी दर्ता गरेका छन् । सिंगापुरको २० सिसिल स्ट्रीट, १४–०१ इक्वीटी प्लाजामा ०४९७०५ नम्बरको दर्ता रहेको कार्यालय समेत उनले खोलेका छन्। उक्त कम्पनीको टेलिफोन नम्बर ६५६३२०१८८८ रहेको छ । कार्कीले दूवईमा समेत कम्पनी खोलेको स्रोतले बतायो । कार्कीले तत्कालिन प्रधानसेनापति पूर्णचन्द्र थापाका पालमा बिना प्रतिस्पर्धा धेरै मुल्यमा काम नलाग्ने केटू हतियार ल्याएका थिए ।

उनले प्रधानसेनापति थापाका नातेदारलाई साझेदार बनाएर डेउ प्रिसिजनबाट डेढ अर्वको हतियार खरिद गरेका थिए । जसको मुल्य एक थान हतियारको ९ सय डलर रहेको थियो । उक्त हतियार परीक्षण नगरेर खरिद गरेको भन्दै सेनामा त्यसको आलोचना भएको थियो । सेनाले अहिले गलिल, जी ३६ हतियार प्रयोग गरिरहेको छ । तर, कमिशनको लोभमा तत्कालिन सेनाका उच्च अधिकारीले केटू हतियार खरिद गर्ने निर्णय गरेका थिए ।

कोरियन केटू हतियारमा ब्यारेल तात्ने, ककिङ हयाण्डल भाच्चिने र नपड्किने समस्या देखिएको भन्दै छानविन समिति समेत बनेको थियो । तर, फेरी त्यही हतियार किन्ने तयारीमा सेना लागेको छ । त्यसका लागि प्रक्रिया समेत अघि बढिसकेको स्रोत बताउंछ ।

कार्कीले थापाकै पालामा ल्याएको चार अर्ब ४५ करोड लगानीमा अटोमेटिक राइफलमा लाग्ने ५.५६ र ७.६७ एमएम साइजको गोली उत्पादन गर्न सुन्दरीजलमा एम्युनिशन प्लान्ट अहिलेसम्म पनि संचालनमा आउन नसकेको सैनिक स्रोत बताउंछ । कार्कीले प्रधानसेनापति थापाका नातेदारसंगको सेटिङमा उक्त प्लान्ट नै सेकेण्ड हयाण्ड खरिद गरेको सेनाका एक उच्च अधिकारीले बताए ।

यसबारेमा कार्कीसंग कुरा गर्न खोज्दा उनले टेलिफोन उठाएनन् । हतियार खरिदमा कमिसनको ठुलो चलखेल भएको आशंकापछि अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच यसलाई कसरी अघि बढाउने बारे छलफल गरिरहेको स्रोत बताउंछ । दुवै नेताबीच शनिवार मात्र यसबारेमा लामो कुराकानी भएको थियो ।

यो पनि पढ्नुहोस-

K2 rifles purchased by Nepal Army from Korean company found to be faulty

प्रतिक्रिया दिनुहोस
Advertisement