काठमाडौं – नेपाली सेनाले बृहत घुम्ती स्वास्थ्य शिविर सम्पन्न गरेको छ । सेनाले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहकार्यमा महोत्तरीमा १० दिने स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
सिरहा, सिन्धुली, महोत्तरी, सर्लाही र धनुषा जिल्लाका स्वास्थ्य उपचार पाउन नसकेका बिरामीहरुलाई लक्षित गरी प्रदेश २ को महोत्तरी जिल्ला, सोनमा गाउँपालिका ३ स्थित खकना उच्च माध्यमिक विद्यालयमा (मुख्य क्याम्प) तथा महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरस्थित जलेश्वर अस्पतालमा सर्जिकल क्याम्प स्थापना गरी बृहत निःशुल्क संयुक्त शल्य चिकित्सा घुम्ती स्वास्थ्य शिविर सम्पन्न गरेको सेनाले जनाएको छ ।

उक्त घुम्ती स्वास्थ्य शिविरको समुद्घाटन नेपाल सरकारका पूर्व माननीय स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्रकुमार यादवले गरेका थिए भने प्रदेश २ का माननीय मुख्यमन्त्री लालबाबु राउतले समापन गरे । उक्त समापन कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले मुसहर बस्तीलगायत पिछडिएका ग्रामिण स्थानहरु पहिचान गरी निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराई सर्वसाधारणहरुलाई सेवा उपलब्ध गराएकोमा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाली सेनालाई धन्यवाद दिए । साथै, नेपाली सेना र आम नागरिक बीचको सम्बन्धलाई प्रगाढ बनाउन यस किसिमको स्वास्थ्य उपचार सेवाले महत्वपूर्ण भूमिका खेलेको बताए ।
नेपाली सेनाको सिमित स्रोत र साधनको बावजुद पनि हालसम्म कै सबैभन्दा बृहत संयुक्त घुम्ती स्वास्थ्य शिविर सञ्चालनकै बीच नेपाली सेनाका दक्ष चिकित्सकको टोलीले सोनमा–७ को मुसहर र डोम समुदायको बस्तीमै गएर स्वास्थ्य जाँच तथा उपचार सेवा दिएको थियो । दलित बस्तीमा स्वास्थ्य जाँच गरिएका दुई हजार ५०० मध्ये २५० जनालाई शिविरमा ल्याएर थप उपचार समेत गरिएको थियो ।
सेनाको टोलीले घरघरमै पुगेर उपचार सेवा दिएपछि बल्ल आफूहरुलाई हेर्ने पनि कोही रहेछन् भन्ने लागेको दलित बस्तीका मुसहरहरुको भनाइ रहेको छ । यसैबीच नेपाली सेनाको टोलीले सोनमा गाउँपालिकाका सबै बस्तीमा डेङ्गुको समस्या आउन नदिन विषादी छरेको थियो । शिविरको तालिकाभित्रको काम नभए पनि नेपाली सेनाको प्रयत्नले पनि डेङ्गु आउन नदिन पूर्वसजगता अपनाइन सकिने सन्देश प्रवाह गर्न थप काम गरिएको थियो ।

प्रदेश नं. २ को सिरहा, सिन्धुली, महोत्तरी, सर्लाही र धनुषा जिल्लाका सर्वसाधारणलाई लक्षित गरी सञ्चालन गरिएको उक्त शिविरमा ३२९ जनाको सफल शल्यक्रिया गरिएको थियो भने विभ्नि रोगका ३४१७२ जना विरामीले सेवा लिएका थिए ।
उक्त समापन कार्यक्रममा नेपाल सरकारका पूर्व स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्रकुमार यादव, प्रदेश नं। २ का मन्त्री तथा सांसदहरु, नेपाली सेनाका रथीवृन्द, अन्य विशेषज्ञ चिकित्सकहरु, विभिन्न मिडियाका सञ्चारकर्मीहरु, नेपाली सेनाका अधिकृतर डा. अधिकृतहरु तथा मेडिकल प्राविधिकहरु, विभिन्न मिडियाका सञ्चारकर्मीहरु लगायत उल्लेख्य मात्रामा स्थानीय सर्वसाधारणको समेत सहभागिता रहेको थियो ।
यस किसिमको घुम्ती स्वास्थ्य शिविरले स्थानीय तहमा रहेका बिरामीहरुलाई निःशुल्क शल्यक्रिया तथा औषधीसहितको उपचार सेवा प्रदान गरी स्वास्थ्य समस्यालाई केही हदसम्म भएपनि निवारण गर्न सहयोग सिद्ध हुन गई सैनिक(नागरिक सम्बन्धलाई थप प्रगाढ बनाउन महत्वपूर्ण भुमिका खेल्ने विश्वास नेपाली सेनाले लिएको छ ।




प्रतिक्रिया