घाइतेलाई सेनाको जहाजबाट उद्धार


राँझा – नेपाली सेनाको गाडीको ठक्करबाट शनिबार गम्भीर घाइते भएकी प्रतीक्षा भुसाललाई थप उपचारका लागि आज काठमाडौँ लगिएको छ । शिक्षण अस्पताल कोहलपुरमा उपचाररत तीन महीनाकी सुत्केरी भुसाललाई नेपाली सेनाको जहाजद्वारा उपचारका लागि राजधानी लगिएको उनका काका खिलप्रसादले जानकारी दिए ।

उनका अनुसार घाइते प्रतीक्षालाई लिन नेपाली सेनाका डा वसन्त रिजालको नेतृत्वमा तीन सदस्यीय चिकित्सक टोली राँझा विमानस्थल आएको थियो ।

शनिबार कोहलपुरको एनटिभी रोडमा नेपाली सेनाको बा २ झ ६३४१ नम्बरको गाडीले भे ४ प ७६२० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उहाँका भाइ कोहलपुर –२ निवासी किरणको घटनास्थलमै मृत्यु भएको र उनी घाइते भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

बाँकेमा पाँचको निधन

बाँकेमा बन्दाबन्दीमा भएका सडक दुर्घटनामा परी पाँच जनाको ज्यान गएको छ भने दुईजना गम्भीर घाइते भएका छन् । कोरोना भाइरसको सङ्क्रमणका कारण गत चैत ११ गतेदेखि बन्दाबन्दी जारी भएसँगै अत्यावश्यकीयबाहेकका सवारी साधन चलेका छैनन् । अत्यावश्यक कामका लागि सञ्चालित सवारीसाधन दुर्घटना परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कानुसार मृत्यु हुनेमा दुई सुरक्षाकर्मी, एक स्वास्थ्यकर्मी र अन्य दुई सर्वसाधारण छन् । चैतमा भएका छ दुर्घटनामा दुई जना तथा वैशाख २० गतेसम्म भएका नौ दुर्घटनामा तीन जनाको ज्यान गएको छ ।

कोहलपुर क्षेत्रमा भएका दुई दुर्घटनामा मात्रै तीन जनाको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख पबिन्द्र बमले जानकारी दिनुभयो । उहाँका अनुसार बढीजसो दुर्घटना तीव्र गति र चालकको लापर्वाहीले हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement