कामडौं – नेपाली सेनाले पुल्चोक ईन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकलाई आफ्नो एक थान हेलिकोप्टर हस्तान्तरण गरेको छ । सेनाले बुधबार आफ्नो एक थान हेलिकप्टर त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ क्याम्पस पुल्चोकलाई हस्तान्तरण गरेको हो ।
सेनाका सम्भाररथी उपरथी प्रभुराम शर्माले सेवा अवधि पूरा गरेको अलाउटे–३ हेलिकप्टर अध्ययन अनुसन्धानका लागि पुल्चोक क्याम्पसलाई प्रदान गरेको सेनाले जनाएको छ ।
उक्त हस्तान्तरण कार्यक्रममा उपरथी शर्माले गौरवमय इतिहास बोकेको नेपाली सेनाले नेपाल सरकारद्वारा सुम्पिएका राष्ट्रिय गौरवका आयोजनाहरु तथा विभिन्न विकास निर्माणका कार्यहरु सम्पादन गर्दै आइरहेको र प्रधानसेनापति पूर्णचन्द्र थापाको ‘कमाण्ड मार्ग निर्देशन–२०७५’ अनुसार देशको शैक्षिक क्षेत्रमा समेत सहयोग र्पुयाउन तयार रहेको बताएका थिए ।
क्याम्पसमा पहिलोपटक एरोस्पेस इन्जिनियरिङ अध्ययनमा व्यावहारिक ज्ञानको लागि प्रयोग भइसकेको उक्त हेलिकप्टर तथा पार्टपुर्जा सहयोगले दक्ष जनशक्ति उत्पादनमा सेवा पुर्याउने विश्वास सेनाले जनाएको छ । हस्तान्तरण कार्यक्रममा संस्थानका डिन, कलेज प्रमुख तथा सेनाका अधिकारीहरुको उपस्थिति रहेको थियो ।
हेलिकप्टर हस्तान्तरणको अनुमति तथा स्वीकृति रक्षा मन्त्रालयले दिएको थियो । उक्त हेलिकप्टर २०४७ जेठ २३ बाट प्रयोगमा आएको थियो। यसले ४ हजार १ सय २१ घण्टा उडान तथा ९ हजार ७ सय ५२ पटक ल्यान्डिङ गरेको सेनाले जनाएको छ।
उक्त हेलिकप्तरले २०७५ चैत २ मा अन्तिम उडान गरेको थियो । यस प्रकारको कार्यले उक्त अध्ययन संस्थानबाट राष्ट्रको लागी आवश्यक दक्ष प्राविधिक जनशक्ति उत्पादनमा सहयोगीसिद्ध हुने विश्वास नेपाली सेनाले लिएको छ ।




प्रतिक्रिया