काठमाण्डु – सैनिक श्रीमती संघले मध्यपुरथिमि नगरपालिका ९ बोडेमा बस्दै आएका कोरोना सङ्क्रमित एकाघरका १४ जना परिवारलाई खाद्यान्न वितरण गरेको छ । राष्ट्रिय समाचार समितिबाट (रासस) यही भदौ १४ गते आइतबार ‘जब एकाघरका १४ जना कोरोना सङ्क्रमित भए…’शीर्षकको समाचार सम्प्रेषण भएको थियो । यसपछि संघले पीडित परिवारलाई तीनमहिनालाई पुग्ने खाद्य सामाग्री प्रदान गरेको हो ।
रामेछापबाट सातवर्ष अगाडि बोडेमा जग्गा भाडामा लिएर टहरा हालेर बस्दै आएका चारदिन र तीन महिनाको सुत्केरी, ७, ८ र ९ वर्षका बालवालिकादेखि ७५ वर्षीया जेष्ठ महिला समेत कोरोना सङ्क्रमित भएपछि समस्यामा परेका थिए । सङ्क्रमित सो परिवारलाई स्थानीयले एम्बुलेन्समा राखेर खरिपाटीस्थित आइसोलेशनमा पठाएका थिए ।
आइसोलेशनले पनि सोही राती नै पुनः सोही टहरामा मै फर्काइदिएको थियो । यसपछि उक्त परिवारलाई मानसिक तनावका साथै खाद्यान्नको अभावमा परेका विषयमा राससले समाचार सम्प्रेषण गरेको थियो ।
सङ्क्रमित परिवारमा खाद्यान्न अभाव नहोस भन्ने उद्देश्यले संघले टहरामा होम आइसोलेशन मै रहेका ती परिवारलाई खाद्यान्नसहितको सामाग्री प्रदान गरेको वीर दल सूर्यविनायकका गणपति एवं प्रमुख सेनानी शिवप्रसाद पौडेलले जानकारी दिए ।
गणपति प्रमुख सेनानी पौड़ेल तथा बडाध्यक्ष रामकाजी चक्रधरको रोहवरमा संघले १० बोरा चामल, एक÷एक बोरा गेडागुडी, आलु र नून, एक बक्सा तेल, दुई÷दुई केजी बेसार, मेथी, ज्वानोे, हर्लिक्स, बोर्न भिटा , चार बट्टा ल्याक्टोजिन, सुत्केरी तथा नवजात शिशुलाई न्यायो कपडा, पौष्टिक आहारा तथा गणले स्यानेटाइजर, मास्क र जुस प्रदान गरेको हो ।
संघले गरेको यस सहयोगले परिवारमा ठूलो राहत पुगेको सङ्क्रमितका परिवारले जनाएका छन् ।




प्रतिक्रिया