यी हुन् बंगलादेशसँगको दोस्रो मैत्रीपूर्ण खेलमा डेब्यु गर्न सक्ने तीन खेलाडी


रमेश सुवेदी

काठमाण्डु – दोस्रो मैत्रीपूर्ण खेल अन्तर्गत नेपाल र बंगलादेश आज साँझ ५ बजे भिड्दैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा नेपाल लगातार दोस्रो जित निकाल्ने दाउमा हुनेछ भने बंगलादेश नेपाललाई रोक्न चाहन्छ । पहिलो खेलमा विगतभन्दा सुधारिएको खेल देखाएको बंगलादेश घरेलु टोलीलाई पहिलो पटक हराउने दाउमा हुनेछ ।

हालसम्म नेपाल र बंगलादेशबीच जति खेल भए, सबै खेल नेपालले जितेको छ । नेपाल आफ्नो विजयी यात्रालाई अझै फराकिलो बनाउन चाहन्छ । यसअघि गत बिहीबार (२४ भदौ) मा नेपालले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गरेको थियो । नेपालको लागि दुबै गोल डेब्यु गरिरहेका सविता राना मगर र प्रिती राईले गरेका थिए ।

सविताले खेलको १४ मिनेटमा नेपाललाई अग्रता दिलाएकी थिइन् भने प्रितीले खेलको २३ मिनेटमा अग्रता दोब्बर बनाएकी थिइन् ।बंगलोदशकी मोसाम्मत आखी खातुनले सान्त्वना गोल गरेकी हुन् ।

नेपाली प्रशिक्षक ग्यारी फिलिप्सले बंगलोदशविरुद्ध चार जनालाई डेब्यु गराएका थिए । सविता र प्रितीलाई सुरुवाती–११ मा डेब्यु दिएका उनले सृजना सिंह ठकुरी र रश्मी घिसिङलाई दोस्रो हाफमा डेब्यु गराएका थिए ।

सृजना सिंह ठकुरी हिरा कुमारी भुजेलको स्थानमा मैदान प्रवेश गरेकी थिइन् भने रश्मी घिसिङ मञ्जलीकुमारी योञ्जनको स्थानमा मैदान प्रवेश गरेकी हुन् ।

यसअघि एएफसी महिला एसिया कप २०२२ छनोटका लागि मुख्य प्रशिक्षक ग्यारीले ४५ सदस्यीय टोली घोषणा गरेका थिए । दोस्रो चरणसम्ममा ग्यारीले २३ सदस्यीय टोली घोषणा गरेका हुन् । जसमा ग्यारीले सात नयाँ अनुहारलाई राष्ट्रिय टोलीमा पहिलो पटक स्थान दिएका थिए ।

बंगलादेशविरुद्ध पहिलो मैत्रीपूर्ण खेलमा चार खेलाडीलाई डेब्यु दिएका ग्यारीले दोस्रो मैत्रीपूर्ण खेलमा थप तीन जनालाई डेब्यु दिन सक्छन् । पहिलो खेलमा डेब्यु बाँकी रहेका डिफेण्डर निशा थोकर र विमला विक तथा स्ट्राइकर रजनी थोकरले दोस्रो मैत्रीपूर्णमा मौका पाउन सक्छन् ।

यद्यपि, प्रशिक्षक ग्यारीले तीनै खेलाडीलाई दोस्रो हाफमा मौका दिन सम्भावना छ । पहिलो मैत्रीपूर्णमा सुरुवाती–११ का सम्पूर्ण खेलाडीले औषत प्रदर्शन गरेका छन् । पहिलो खेल नै प्रतिस्पर्धात्मक रहेकाले सुरुवाती–११ मा कुनै पनि खेलाडीले डेब्यु नपाउन सक्छन् ।

डेब्यु गर्न सक्ने तिन खेलाडी :

निशा थोकर

अग्ली कदकी निशा पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएकी हुन् । महिला फुटबल र एकेडेमीको लागि उर्वरभूमि मानिने रौतहटको खेलाडी हुन् थोकर । उनले गत लिग विभागीय एपीएफ क्लबबाट खेलेकी थिइन् । लिगको उपाधिसमेत एपीएफले जितेको थियो । यसअघि डिफेण्डर निशा १३औं साग र हिरो गोल्डकप भारतमा खेल्न जाने टोलीको प्रारम्भिक प्रशिक्षणमा रहेकी थिइन् । निशाले नेपालको यू–१५, १६ र १९ टोलीबाट खेलिसकेकी छिन् ।

रजनी थोकर
स्ट्राइकर रजनी थोकर पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएकी हुन् । उनी पहिलो प्रयासमै टोलीमा स्थान बनाउन सफल भइन् । स्ट्राइकर रजनीले राष्ट्रिय महिला लिगमा रौतहटको चन्द्रपुर नगरपालिकाबाट खेलेकी थिइन् । उनले नेपालको उमेर समूहको प्रतिनिधित्व गरिसकेकी छिन् । पछिल्लो समय अभ्यासमा उनले आफूलाई निखार्ने मौकासमेत पाएकी छिन् ।

विमला विक

राष्ट्रिय महिला लिगमा प्रभावशाली प्रदर्शन गरेकी विमलसमेत पहिलो पटक राष्ट्रिय टिमको ढोका खोलेकी हुन् । डिफेण्डर विमलाले आर्मी क्लबबाट प्रतिनिधित्व गर्दै दुई गोल गरेकी थिइन् । उमेर समूहमासमेत अब्बल प्रदर्शन गरेकी विमलाले राष्ट्रिय टोलीमासमेत डेब्यु गर्ने प्रबल सम्भावना छ । विमलले उमेर समूहमा यू–१५, १६ र १९ बाट खेलिसकेकी छिन् । यसअघि राईट ब्याकमा प्रभावशाली प्रदर्शन गरेकी विमला राष्ट्रिय टोलीको प्रशिक्षणमा भने आफ्नो प्रभाव बनाउन सकेकी छैनन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement