काठमाण्डु – गत महिना नेपालले नयाँ प्रधानमन्त्री बालेन शाहसहित युवा सांसदहरूले भरिएको संसद गठन गर्दा बंगलादेशकी अभियन्ता युमाना फातिमाले टाढैबाट हेर्दै निराशा महसुस गरिन् ।
फातेमा सन् २०२४ मा बंगलादेशमा सडकमा उत्रिएका हजारौँ जेन जी प्रदर्शनकारीमध्ये एक थिइन् । उनीहरू पनि नेपालका युवाझैँ शक्तिशाली आन्दोलनमार्फ सरकार गिराउन सफल भएका थिए ।
तर करिब दुई वर्ष बितिसक्दा पनि बंगलादेशको युवा आन्दोलनले ठोस राजनीतिक शक्ति हासिल गर्न सकेको छैन । उता नेपालको जेन जी आन्दोलनले युवाकै नेतृत्वमा सरकार गठन भइसकेको छ ।
यस वर्ष फेब्रुअरीमा सम्पन्न निर्वाचनमा स्थापित बंगलादेश नेश्नलिष्ट पार्टी (बीएनपी) ले ऐतिहासिक बहुमत ल्यायो भने विद्यार्थी आन्दोलनबाट जन्मिएको नेशलल सिटिजन पार्टी (एनसीपी) ले कमजोर प्रदर्शन गर्यो ।
यसको ठीक विपरीत नेपालमा गर्त मार्च ५ मा भएको ऐतिहासिक निर्वाचनमा चार वर्षअघि मात्र स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टीले भारी बहुमत हासिल गर्यो । यसले धेरै जेन जी नेताहरूलाई संसदमा पुर्यायो र पूर्व र्यापर शाहको नेतृत्वमा युवा नेतृत्वको सरकार बन्यो ।
हालका वर्षहरूमा एसियाभरि धेरै जेन जी आन्दोलन भए तर सत्तामा पुग्ने दृष्टिले नेपालजस्तो सफलता दुर्लभ देखिएको छ ।
‘व्यक्तिगत रूपमा म निराश भएँ । नेपालका युवाहरूले आफूलाई जति प्रभावकारी रूपमा संगठित गरे, त्यो देख्दा हाम्रो देशको अवस्थाले झन् दुःख लाग्यो,’ फातेमाले भनिन् ।
‘बंगलादेशले त्यस्तो परिवर्तन ल्याउन सकेन । हामीले पनि त्यही तरिकाले देशलाई पुनर्गठन गर्न नसकेको अनुभूति स्वाभाविक रूपमा पीडादायी छ’, उनी भन्छिन् ।

किन नेपाल सफल भयो ?
नेपालका युवा नेताहरूले आफ्नो सफलताको मुख्य कारण आन्दोलनले सर्वसाधारण नागरिकसँग गहिरो सम्बन्ध बनाउन सकेको बताउँछन् ।
कैलालीबाट निर्वाचित रास्वपाका सांसद केपी खनालका अनुसार जेन जी आन्दोलनले लामो समयदेखि प्रणालीप्रति रहेको असन्तुष्टिलाई उजागर गरेको छ र युवाहरूको बलिदान र आवाज जनताले नबिर्सने भाव पैदा भएको छ ।
उनले थपे, ‘निरन्तरता पनि महत्त्वपूर्ण थियो । हामीले उत्तरदायित्व र न्यायका मुद्दा बारम्बार उठायौँ, जसले विस्तारै व्यापक समर्थन पायो । आन्दोलन केवल प्रतिक्रिया नभई विश्वसनीय अभियानमा रूपान्तरण भयो ।’
नेपालको राजनीतिक संरचनाको भूमिका
विश्लेषकहरूका अनुसार नेपालको विशिष्ट राजनीतिक संरचनाले पनि युवाहरूलाई फाइदा पुर्यायो ।
वर्षौँदेखि कुनै एक दलले स्पष्ट बहुमत नपाउने प्रणालीका कारण नेपालमा १७ वर्षमा १४ वटा सरकार परिवर्तन भएका थिए । स्थापित दलहरूबीचको सत्ता खेलले जनतामा गहिरो असन्तुष्टि पैदा गरेको थियो ।
यसै कारण भ्रष्टाचारविरुद्धको आक्रोश स्थापित दलतर्फ केन्द्रित भयो, जसले नयाँ शक्ति रास्वपालाई आकर्षक विकल्प बनायो ।
गठबन्धन र रणनीतिक निर्णय
शाह र रास्वपाबीचको गठबन्धन तथा आन्दोलनकारी नेताहरूको पार्टीमा प्रवेशले ठूलो भूमिका खेल्यो । यसले संगठन, स्रोत र चुनावी पहुँच उपलब्ध गरायो ।
रास्वपाका सभापति रवि लाममिछाने माथि सहकारी ठगिको आरोप लागे पनि शाहसँगको सहकार्यले पार्टीलाई नयाँ ऊर्जा दिएको मानिन्छ ।
नेपालका राजनीतिक विश्लेषक अमिस मुल्मी भन्छन्, ‘दक्षिण एसियामा बलियो पार्टी संरचना अत्यन्त महत्वपूर्ण हुन्छ । नयाँ पार्टीलाई सफल हुन व्यापक संगठन आवश्यक हुन्छ ।’
नयाँ पार्टी किन बनेन ?
नेपालका युवा अभियन्ता पुरुषोत्तम यादवलाई आन्दोलनपछि नयाँ पार्टी खोल्ने प्रस्ताव आए पनि उनले अस्वीकार गरे । उनले भने, ‘निर्वाचन जित्नु मजाक होइन । आन्दोलन र चुनाव फरक कुरा हुन् । पार्टी खोल्न ठूलो संगठन, स्रोत र संरचना चाहिन्छ ।’
त्यसपछि उनी रास्वपामा सामेल भए र अहिले समानुपातिक सूचीमार्फत सांसद बनेका छन् ।
बंगलादेशमा किन असफलता ?
बंगलादेशमा अमावी लिग लामो समयसम्म प्रभावशाली थियो । त्यसको पतनपछि अन्य दलहरू ‘पीडित’को रूपमा प्रस्तुत भए । यसले बंगलादेश नेश्लनिस्ट पार्टी र जमात–ए–एस्लामीलाई फाइदा पुग्यो ।
बंगलादेशका विश्लेषक इमरान अहमद बंगलादेशका स्थापित दलहरूले आन्दोलनको ऊर्जा आफूतर्फ मोड्न सफल भएको बताउँछन् । ‘एनसीपीले जमातसँग गठबन्धन गर्नु झन् हानिकारक बन्यो, जसले युवाहरू विशेषतः महिलाहरूलाई टाढा बनायो’, उनी भन्छन् ।
बंगलादेशकै अर्का विश्लेषक ऋषि गुप्ता भन्छन्, ‘यसले एनसीपीलाई आन्दोलनभन्दा सत्ता केन्द्रित देखायो र ठूलो अवसर गुमायो ।’
नेपालमा आन्दोलनपछि ६ महिनामै चुनाव भयो, जबकि बंगलादेशमा साढे एक वर्षपछि मात्र निर्वाचन भयो । यसले आन्दोलनको ऊर्जा कमजोर बनायो ।
यद्यपि, बंगलादेशमा आन्दोलनले राष्ट्रिय बहसलाई परिवर्तन भने गरेको छ । सुधारका मुद्दामा केन्द्रित बहस बढेको भने संविधान, संसद तथा कानुनी प्रणाली सुधारका लागि जनमत संग्रह भयो । तर फातेमाका अनुसार नयाँ सरकार अझै पुरानै शैलीमा काम गरिरहेको छ र युवाका रोजगारी तथा अवसरमा ध्यान दिनुपर्ने आवश्यकता छ ।
युवामा निराशा
धेरै युवाहरू अहिले विदेश जाने सोचमा छन् । ‘युवाहरूले देशमै भविष्य देख्न छाडेका छन् भने राजनीति कसरी बलियो हुन्छ ?’ फातेमाले प्रश्न गरिन् ।
केहीले भने एनसीपीले आगामी स्थानीय चुनावमार्फत पुनः विश्वास जित्ने आशा राखेका छन् । एनसीपी नेता राहत हुसैन भन्छन्, ‘यदि हामी जनतासँगै रह्यौँ भने भविष्यमा राम्रो नतिजा आउन सक्छ ।’
नेपाल र बंगलादेश दुवै देशका युवाहरूको लक्ष्य स्पष्ट छ–परिवर्तनका लागि संघर्ष जारी राख्ने । नेपालका युवा सांसदहरू भन्छन्–उनीहरू अब संसदमा पुगे पनि आफ्नो एजेन्डा परिवर्तन भएको छैन ।
नेपालका जेन जी युवा यादवले भने, ‘हामी सडकबाट संसदमा पुगेका हौँ, तर हाम्रो लक्ष्य उस्तै छ–भ्रष्टाचार अन्त्य र नातावादको विरोध गर्नु हो । आवश्यक परे आफ्नै पार्टीसँग पनि लड्न तयार छौँ ।’
बंगलादेशमा पनि युवाहरूको चेतावनी दिइएको छ–यदि सुधार कार्यान्वयन भएन भने फेरि आन्दोलन हुनेछ । फातेमाले भनिन्, ‘अबको आन्दोलन सम्भवतः नयाँ पुस्ता जेन अल्फाले नेतृत्व गर्नेछ ।’
बीबीसीमा प्रकाशित रिपोर्टका आधारमा तयार पारिएको आलेख




प्रतिक्रिया