काठमाण्डु – सर्वोच्च अदालत प्रशासनले रिट र निवेदनहरू दर्ता गर्न अस्वीकार गरेको विरोधमा नेपाल बार एसोसिएसनले मंगलबार ‘न्यायको खोजीका लागि’ भन्दै दिउँसै लालटिन बाल्ने भएको छ ।
सोमबार कामु प्रधानन्यायाधीश सपना मल्ल प्रधानलाई भेटेपछि बसेको बार बैठकले सर्वोच्च प्रशासनबाट अनपेक्षित क्रियाकलाप र हर्कत भएको ठहर गर्दै न्यायको खोजीका लागि लालटेन बाल्ने भएको हो ।
बारले मंगलबार दिउँसो १ः१५ बजे बार प्राङ्गणमा लालटिन बालेर अदालत प्रशासनको कार्यशैलीविरुद्ध विरोध प्रदर्शन गर्ने भएको हो ।
बार महासचिव केदार कोइरालाका अनुसार बार परिसरमा कानुन व्यवसायीको विरोधसहित न्याय, विवेक र स्वच्छ प्रक्रियाको खोजी गर्ने निर्णय भएको हो ।
सर्वोच्च अदालतसमक्ष पर्न आएका रिट निवेदन र निवेदनहरू दर्ता नगरी सर्वोच्च अदालत प्रशासनबाटै दरपीठ गरी फर्काएका कारण न्यायमार्गमा अवरोध भएको बारको ठहर छ ।




प्रतिक्रिया