काठमाण्डु-क्यानडामा जारी त्रिकोणात्मक टि–ट्वान्टी शृङ्खलाअन्तर्गत सम्पन्न खेलमा नेपाल घरेलु टोलीसँग चार विकेटले स्तब्ध भएको छ । प्रतिस्पर्धात्मक खेलको दोस्रो पारीको १९औँ ओभरमा दुई छक्का र एक चौकाको सहयोगमा १८ रन जोडेपछि क्यानडाले जित सहजै आफ्नो पक्षमा पार् यो ।
क्यानडाको किङ सिटीमा भएको खेलमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालको सुरुआत राम्रो रह्यो । पहिलो विकेटका लागि अनिल साह र आशिफ शेखले ७० रनको साझेदारी गरे ।
नेपालले ‘पावरप्ले’मा नौ दशमलव ३३ रनरेटको औसतमा ५६ रन बनायो । तर पावरप्लेपछि नेपालको रनको गति सुस्त भयो ।
पहिलो नौ ओभरमा सात दशमलव ४० को औसतले रन बनाएको नेपालले पारी सकिँदा छ दशमलव ९५ औसतमा १३९ रन मात्रै बनाउन सक्यो ।
नेपाललाई मध्यमक्रममा समेट्ने क्रममा क्यानडाका लागि हर्ष ठाकरले दुई विकेट लिए । साथै दिलोन हेलिङ्गर, अखिल कुमार, प्रवीण कुमार र साद विन जफरले समान एक÷एक विकेट झारे ।
एक सय ४० रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको क्यानडाको सुरुआत मध्यम रह्यो । पहिलो छ ओभरमा क्यानडाले एक विकेटको क्षतिमा ३४ रन मात्रै बनाउन सक्यो ।
नेपालका लागि पहिलो दुई विकेट लिँदै ललित राजवंशीले केही आशा जगाए ।
क्यानडालाई अन्तिम ओभरमा तीन रन आवश्यक भयो । अन्तिम ओभरको पहिलो बलमा दीपेन्द्र सिंह ऐरीले एक रन खर्चिए। त्यसपछि क्यानडाले वाइडमार्फत अतिरिक्त एक रन प्राप्त गर्दा स्कोर बराबरीमा पुग्यो । उक्त ओभरको तेस्रो बलमा जफरले विजयी रन प्रहार गरे ।
क्यानडासामू मध्यम लक्ष्य प्रस्तुत गरेको नेपाल डेथ ओभरमा सम्हालिन नसक्दा क्यानडाले सहजै जित दर्ता गर्यो नेपालका लागि ललित राजवंशी र सन्दीप लामिछानेले दुई/दुई र सोमपाल कामीले एक विकेट लिए । अठार बलमा ३३ रन बनाउनुका साथै एक विकेट लिएका साद विन जफर प्लेयर अफ द म्याच घोषित भए ।
शृङ्खलाअन्तर्गत नेपालले आफ्नो तेस्रो खेल आज ओमानविरुद्ध खेल्नेछ ।
प्रतिक्रिया