काठमाण्डु- नेपाल-चीन कुटनीतिक परामर्श संयन्त्रको १६ औँ बैठक काठमाण्डुमा मंगलबार सम्पन्न भएको छ । बैठकमा दुवै पक्षले द्विपक्षीय सम्बन्धका समग्र पक्षको समीक्षा गरेको छ । बैठकमा दुवै देशले परराष्ट्रमन्त्री तहको नयाँ संयुक्त आयोग संयन्त्र आवश्यक रहेकोमा जोड दिएका छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार नेपाल र चीनबीच यसअघि भएका सम्झौताहरू कार्यान्वयनका लागि भएको प्रगतिको बारेमा बैठकमा छलफल भएको छ ।
बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व नेपालका परराष्ट्र सचिव सेवा लम्साल र चीनका उपविदेशमन्त्री सुन वेइडोङले चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए ।
दुवै प्रतिनिधिमण्डलका प्रमुखले शान्तिपूर्ण सहअस्तित्व, पञ्चशीलको सिद्धान्त, आपसी विश्वास, सद्भावना र समझदारी कायमै रहेको बताएका थिए । उपविदेशमन्त्री सुनले एक चीन सिद्धान्तप्रति नेपालको प्रतिबद्धताको प्रशंसा गरेको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ ।
बैठकमा व्यापारका क्षेत्रमा सहयोग अभिवृद्धि, लगानी, पूर्वाधार विकास, कनेक्टिभिटी, कृषिलगायतका अन्य क्षेत्रमा सहयोग गर्ने विषयमा पनि छलफल भएको थियो ।
दुवै पक्षले विद्यमान द्विपक्षीय संयन्त्रलाई थप सक्रिय बनाउन र परराष्ट्रमन्त्रीस्तरमा संयुक्त आयोगलगायत नयाँ संयन्त्र स्थापना गर्नुपर्नेमा जोड दिएको बैठकपछि परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
नेपालको भारतसँग परराष्ट्रमन्त्री तहमै संयुक्त आयोग भए पनि चीनसँग भने हालसम्म सचिव तहमै सीमित छ । आपसी सहमति भएका क्षेत्रमा सहयोगलाई थप प्रवद्र्धन गर्ने प्रतिबद्धता व्यक्त गर्दै पारस्परिक लाभका लागि आर्थिक अवसरको प्राप्तिमा काम गर्ने प्रतिबद्धता व्यक्त गरिएको पनि विज्ञप्तिमार्फत उल्लेख गरिएको छ ।
परराष्ट्र सचिव लम्सालले सन् २०२६ मा नेपालको एलडीसी उत्तीर्ण भएपछि विकास सहयोग अभिवृद्धि गर्न चिनियाँ पक्षको प्रतिबद्धताका लागि सुनलाई धन्यवाद दिइन् ।
यस्तै, दुवै पक्षले सन् २०२५ लाई चीनमा नेपाल भ्रमण वर्ष मनाउने सन्दर्भमा चीनमा नेपालको पर्यटन सम्भावना प्रवद्र्धनलगायत व्यापार, लगानी, पूर्वाधार विकास, कनेक्टिभिटी, कृषिलगायतका क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने उपाय र उपायबारे पनि छलफल गरेका हुन् ।
दुवै पक्षले सन् २०२५ मा नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औं वार्षिकोत्सव विशेष कार्यक्रम र गतिविधिका साथ मनाउने निर्णय पनि गरेका छन् ।
यसैबीच सचिव लम्सालले भ्रमणमा रहेका चिनियाँ प्रतिनिधिमण्डलको सम्मानमा रात्रिभोजको आयोजना गरेकी छन् । उपमन्त्री सुनले बुधबार राष्ट्रपति रामचन्द्र पौडेल र उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।




प्रतिक्रिया