चीनसँगको संयुक्त अभ्यासमा पहिलो पटक ‘रेकन ड्रोन’को प्रयोग

चीनसँगको संयुक्त अभ्यासमा पहिलो पटक ‘रेकन ड्रोन’को प्रयोग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल र चीनका सेनाबीच संयुक्त अभ्यास जारी छ । नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको संयुक्त सैन्य अभ्यासको चौथो संस्करण ‘सगरमाथा फ्रेन्डसीप’ चीनको सिचुवान प्रान्तमा भइरहेको छ । सैन्य अभ्यास असोज १५ सम्म चल्नेछ ।

संयुक्त सैन्य अभ्यासमा भकुण्डो आकारको ‘रेकन ड्रोन’को पहिलो पटक प्रयोग गरिएको छ । मानवरहित हवाइ यन्त्र यस्तो प्रकारको ड्रोनले शक्तिशाली क्यामेराहरूबाट सुसज्जित हुन्छन् र सुरक्षित दूरीबाट नियन्त्रणमा रहन्छ ।

जारी सैन्य अभ्यासमा हल्का हतियार, आतंकवाद विरोधी समूह रणनीति, ड्रोन अपरेसन, आपतकालीन उद्धारसहित आतंकवादविरोधी अभ्यासहरू समावेश छन् । यसका साथै सैन्य क्षमता बढाउने विषयमा पनि अभ्यास भइरहेको छ । संयुक्त अभ्यासमा बहुआयामिक खोज, घुसपैठ र सशस्त्र उद्धारको पनि अभ्यास भइरहेको छ ।

सैन्य अभ्यासमा उद्घाटनको क्रममा चिनियाँ पक्षले हलुका हातहतियार, आतंकवाद विरोधी अभियानका लागि तीन श्रेणीका २० भन्दा बढी उपकरणहरू प्रदर्शन गरेको चाइना सेन्ट्रल टेलिभिजन (सीसीटीभी) ले जनाएको छ ।

अभ्यासको क्रममा दुई पक्षले आपसी विश्वास र समझदारी अभिवृद्धि गर्न सांस्कृतिक आदानप्रदानको शृंखलाका साथै प्राकृतिक प्रकोप र विपद्हरूको कसरी सामना गर्ने विषयमा पनि अनुभव आदानप्रदान गरिरहेका छन् ।

कोभिड महामारीपछि सन् २०१९ मा रोकिएको दुई देशीय सैन्य अभ्यास पाँच वर्षपछि भइरहेको छ । यसअघि सन् २०१९ मा सैन्य अभ्यास काठमाडौंमा भएको थियो । कोभिड संक्रमणपछि भने सैन्य अभ्यासले निरन्तरता पाएको थिएन ।

आतंकवादबाट उत्पन्न हुनसक्ने सम्भावित सुरक्षा चुनौतीलाई दृष्टिगत गरी दुवै देशका विशेष सेनाले २०७४ देखिनै सैन्य अभ्यास गर्दै आएका छन् । पहिलो, दोस्रो र तेस्रो संस्करणको सैन्य अभ्यास पनि प्रतिआतंकवाद युद्धकला र विपद् व्यवस्थापनलगायतमा केन्द्रित थिए ।

नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको पहिलो संयुक्त सैन्य अभ्यास काठमाडौंमा २०७४ वैशाख ३ देखि १२ गतेसम्म भएको थियो । सैन्य अभ्यासको दोस्रो संस्करण २०७५ मा चीनको छेन्दुमा भएको थियो भने तेस्रो संस्करण २०७६ मा नेपालमै भएको थियो ।