काठमाडौं – संसदमा दुईतिहाइ बहुमतको समर्थन प्राप्त प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार बनेपछि कायम भएको राजनीतिक स्थिरताले अन्तर्राष्ट्रिय समुदायमा नेपालको छवि सुधार हुँदै गएको छ ।राजनीतिक अस्थिरताका कारण नेपालसँग सम्बन्ध बनाउन हच्किने विदेशी राष्ट्रहरू स्थिरतासँगै सम्बन्ध सुधारका लागि आकर्षित हुन थालेका छन् । चीन सम्बन्ध सुधारको दिशामा अगाडि बढेको महत्वपूर्ण छिमेकी बनेको छ ।
राष्ट्रपति सी चिनफिङले हालै नेपाल भ्रमण गरेपछि नेपाल–चीन सामिप्यता बढेको पुष्टि भएको छ । नेपालका पक्षबाट चीनमा पटक–पटक भ्रमण हुने गरेपनि कतै चीनले नेपाललाई महत्व दिएको छैन कि भन्ने आशंका गर्ने गरिन्थ्यो । अब त्यो आशंका बाँकी रहेन ।चीनले नेपालमा सहायता समेत बढाउँदै लगेको छ । तर उसले आफ्नो सहायताको पूर्ण सदुपयोगको ग्यारेन्टी खोजेको छ । स्थिर सरकारबाट सहयोगको सदुपयोग हुने विश्वासका साथ चीनले सहायता बढाउँदै लगेको छ ।
राजनीतिक प्रभाव र अस्थिरताबाट खासै प्रभावित नहुने नेपाली सेनामा चीनले महत्वपूर्ण सहयोग गर्दै आएको छ । खासगरी नेपाल गणतन्त्रमा प्रवेश गरेपछि र चिनियाँ राजनीतिसँग वैचारिक निकटता रहेको कम्युनिस्ट पार्टीले सरकार सम्हालेपछि चिनियाँ सहायता क्रमिक रुपमा बढेको देखिन्छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थिर सरकार बनेपछि चीनलाई सहायता बढाउन झन् सहज भएको छ ।
राष्ट्रपति सीको नेपाल भ्रमणलगत्तै चीन भ्रमणमा गएका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग चिनियाँ समकक्षीले सैनिक सहायता सम्बन्धी महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेका छन् ।
चीन सरकारले नेपाली सेनालाई दुई अर्ब ४० करोड रुपैयाँ सहयोग गर्ने सम्झौता पत्रमा नेपालका तर्फबाट मन्त्री पोखरेल र चीनका रक्षामन्त्री वेई फेन्गेले बेइजिङमा हस्ताक्षर गरे । सम्झौता अनुसार चीनले नेपाली सेनालाई मानवीय तथा विपद् व्यवस्थापनका सैन्य सामग्री सहयोगमा उपलब्ध गराउने भएको छ ।
राष्ट्रपति सीको नेपाल भ्रमणका क्रममा चीनले नेपाली सेनालाई सहयोग उपलब्ध गराउने प्रस्ताव गरेको थियो । प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि मन्त्री पोखरेलले चीन गएर सम्झौता गरेका जनाइएको छ । चीनले तीन वर्षभित्र सहयोग हस्तान्तरण गरिसक्नेछ । मन्त्री पोखरेलको चीन भ्रमणका क्रममा चीनका रक्षामन्त्री वेईसँग द्विपक्षीय सम्बन्ध र पारस्परिक हितका विषयमा वार्ता भएको जनाइएको छ । भेटमा पोखरेलले नेपाल र चीनबीचको सम्बन्ध पञ्चशील, शान्तिपूर्ण सहअस्तित्व, पारस्परिक सम्मान र एक–अर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्तबाट निर्देशित भएको स्पष्ट पारे ।
चीनका रक्षामन्त्री वेईले नेपाल र चीनबीच प्राचीन कालदेखि नै मैत्रीपूर्ण सहयोगात्मक सम्बन्ध रहेको बताउँदै चिनियाँ जनमुक्ति सेना र नेपाली सेनाबीचको सम्बन्ध अत्यन्त सकारात्मक रहेको बताएका छन् । रक्षामन्त्री वेईलाई पोखरेलले नेपाल भ्रमणको निम्तो समेत दिएका छन् ।
यसअघि भएको मन्त्री पोखरेलको भ्रमणकै क्रममा चीनले नेपाली सेनाको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय (एनडीयू) स्थापनाका लागि सहयोग गर्ने प्रतिवद्धता गरिसकेको छ । तर,सेनाले भने एनडीयू स्थापनाका लागी विदेशी सहयोग नलिने घोषणा गरिसकेको छ । नेपाली सेनाले विश्वविद्यालय स्थापनाका लागि आवश्यक प्रक्रिया अगाडि बढाउँदै कार्यालय स्थापना समेत गरिसकेको छ ।सैनिक सहायता अन्तर्गत चीनले आर्थिक सहयोग सँगैसँगै सैनिक अधिकृतका लागि वार कलेज र नेसनल डिफेन्स कोर्स (एनडीसी) को कोटा समेत बढाउँदै गएको छ । यसअघि असार पहिलो हप्ता भएको प्रधानसेनापति पूर्णचन्द्र थापाको चीन भ्रमणका क्रममा समेत २ अर्ब ४१ करोड रुपैयाँ बराबरको सैन्य सहयोग गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।
सैन्य सहायता सँगसँगै चीनले नेपाललाई पूर्वाधार विकासमा समेत सहायता बढाउँदै लगेको छ । चिनियाँ विदेशमन्त्री वाङ यी र राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा पूर्वाधार विकासबारे महत्वपूर्ण सम्झौता भएको थियो । दुवै देशका सत्तारुढ राजनीतिक दल चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) र नेकपाबीच रहेको वैचारिक निकटता समेत सहयोग बढाउन भूमिका खेलेको चर्चा हुने गरेको छ ।
सीको ऐतिहासिक नेपाल भ्रमण र नेपाली प्रतिनिधि मण्डलको लगातारको चीन भ्रमणले दुवै देशबीचको सम्बन्धलाई ऐतिहासिक उचाइ प्रदान गरेको छ । नेपालले अवलम्बन गर्दै आएको ‘एक चीन नीति’बाट चिनियाँ पक्ष नेपालप्रति सकारात्मक रहेको छ ।




प्रतिक्रिया