नेपाल-चीन संयुक्त सैन्य अभ्यास आजदेखि

नेपाल-चीन संयुक्त सैन्य अभ्यास आजदेखि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाल र चीन सयुक्त सैन्य अभ्यासको पाँचौं शृङ्खला आइतबारदेखि सुरु हुँदैछ ।

नेपाली सेना र चीनको जनमुक्ति सेना (पीपुल्स लिबरेसन आर्मी, पीएलए) बीच पाँचौं संस्करणको ‘सगरमाथा फ्रेन्डसिप’ नामक संयुक्त सैन्य अभ्यास आइतबारदेखि सुरु भएर १० दिनसम्म चल्नेछ । सैन्य अभ्यासमा सहभागी हुन चिनियाँ जनमुक्ति सेनाको टोली आइपुगेको छ ।

यस अभ्यासमा आतंकवादविरुद्धका अभियान, युद्धकौशल र विपद् व्यवस्थापनमा ध्यान केन्द्रित गरिनेछ । गत वर्ष चौथो संस्करणको अभ्यास चीनको सिचुआन प्रान्त नजिकैको छङछिङ शहरमा भएको थियो ।

नेपाली सेनका प्रवक्ता सहायकरथी राजाराम बस्नेतले यो संयुक्त अभ्यास नियमित सैन्य सहकार्य कार्यक्रमको एउटा हिस्सा भएको बताए । ‘प्रतिआतंकवाद अपरेशन, युद्धकौशल, विपत् व्यवस्थापन लगायतका विषयमा अभ्यास केन्द्रित हुनेछ’, बस्नेतले बताए ।

‘नेपालले क्षमता विकास र अनुभव साटासाट गर्ने उद्देश्यले भारत, अमेरिका र चीनसँग यस्ता अभ्यासहरू नियमित रूपमा गर्दै आइरहेको छ । यी अभ्यासहरू कुनै विशेष मुलुकलाई लक्षित गरेर गरिएका होइनन्’, उनले भने ।

नेपाल–चीनबीच पहिलो संयुक्त सैन्य अभ्यास अप्रिल २०१७ मा काठमाण्डुमा भएको थियो । यस्तै दोस्रो संयुक्त अभ्यास २०१८ मा छेन्दुमा र तेस्रो २०१९ मा नेपालमै भएको थियो । कोभिड–१९ महामारीका कारण केही वर्ष रोकिएको यो अभ्यास गत वर्ष चीनमा पुनः सुरु गरिएको थियो ।

यस्तै नेपालले अमेरिका र भारतसँग पनि संयुक्त सैन्य अभ्यास गर्दै आइरहेको छ । नेपालले भारतसँग ‘सूर्य किरण’ र अमेरिकासँग नियमित संयुक्त सैन्य अभ्यास गर्दै आएको छ ।